काठमाडौं – काठमाडौं उपत्यकाका अहिले पुनः फोहोरको समस्या देखिन थालेको छ। महानगरपालिकाअन्तर्गत वातावरण व्यवस्था विभागमा फोहोर व्यवस्थापनमा कार्यरत अधिकांश कर्मचारी दसैँको बिदामा बसेका कारणले राजधानीमा थुप्रिँदै गएको फोहोरको अनुपातमा उठ्न नसकेको इन्जिनियर पुरुषोत्तम शाक्यले बताए।
राजधानीमा सामान्य दिनमा दैनिक करिब ४०० मेट्रिक टन फोहोर सङ्कलन हुने गर्दछ, त्यसलाई दैनिक २० वटा गाडीले तीन पटकसम्म फोहोर व्यवस्थापन गर्ने गरेको भए पनि अहिले ५/६ वटा गाडीले मात्र फोहोर व्यवस्थापन गरेको उनले जानकारी दिए।
दसैँको समयमा विभिन्न मन्दिरमा ठूलो सङ्ख्यामा भक्तजनले पूजाआजा गर्ने र महानगरबासीले गर्ने खानपिनका कारणले पनि फोहोरको उत्पादन बढ्ने गर्दछ। सोको अनुपातमा महानगरपालिकाले उचित व्यवस्थापन गर्न नसक्दा अहिले त्यस्तो समस्या आएको हो।
अहिले राजधानीको बागबजार, कमलादी, कमलपोखरी, नक्साललगायतका स्थानमा फोहोर थुप्रिँदै गएको छ। यो समस्या काठमाडौँ उपत्यकाका अन्य सहरमा पनि बढ्दै गएको छ। रासस



