अखिल छैठौंमाथि कुटपीट गर्ने नेविसंघका कार्यकर्ता पक्राउ।

बिनोद गैरे 
प्यूठानको बाँदीकोटमा राष्ट्रिय जनमोर्चा समर्थित अखिल छैठौंका विद्यार्थीलाई कुटपीट गर्ने नेविसंघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । घटनाका आरोपित दिनेश केसी, कपिल थापा, चित्रबहादुर थापा र दीपक केसीलाई इलाका प्रहरी कार्यालय मच्छीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
सोमवार कोजाग्रत पूर्णिमाको दिन बाँदीकोटको गडीकोटमा मेला हेरेर घर फर्कदै गर्दा अनेरास्ववियु छैठौका केन्द्रीय उपाध्यक्ष बिमल पोखरेल सहित दर्जन बढी विद्यार्थी नेतामाथि कुटपीट भएको थियो । कुटपीटका क्रममा छुट्याउन गएका राष्ट्रिय जनमोर्चा प्यूठानका जिल्ला सदस्य टिका जिसी, बिमला पोख्रेल, कमला पोख्रेल, श्रीधर खनाल, लिलामणि पोख्रेल, मुना थापा पनि घाइते भएका थिए ।
बाँदीकोटमा अनेरास्ववियू छैठौ ओखरकोट मच्छी एरिया समितिले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा सहभागी भई घर फर्कदै गर्दा उनीहरुलाई कांग्रेस निकट विद्यार्थी र युवाले धारिलो हतियार र चच्कुसहित आक्रमण गरेको अखिल छैठौंले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

अन्य समाचारहरु