काठमाडौं – सरकारले सम्पूर्ण सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय केही समयका लागि स्थगित भएको छ । मन्त्रिपरिषद मातहतको प्रशासन समितिमा मन्त्रीहरूले दुई दिन बिदा दिनेबारेमा थप छलफल र पुरानो अनुभवको अध्ययन गर्नु आवश्यक रहेको धारणा व्यक्त गरेपछि त्यसबारेमा केही दिनपछिमात्र निर्णय हुने जानकारी प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले दिए ।
मन्त्रिपरिषदले एक महिनाअघि ऊर्जा मन्त्रालयको प्रस्तावमा लोडसेडिङ न्यूनीकरण कार्ययोजना पारित गर्ने क्रममा इन्धन र ऊर्जाको खपत घटाउन सम्पूर्ण सरकारी कार्यालयमा कात्तिक १५ देखि साताको दुई दिन बिदा दिने सैद्धान्तिक निर्णय गरेको थियो । तर, मन्त्रिपरिषदले कार्ययोजना पारित गर्दा साताको थप कुन दिन बिदा दिने र कार्यालय समय कति तोक्ने भन्ने निर्णय गर्न बाँकी थियो ।
गृह मन्त्रालयले कात्तिक १५ देखि नै सातामा शनिबार र आइतबार दिने तथा कार्यालय समय आइतबारदेखि शुक्रबार बिहान ९ देखि साँझ ५ बजेसम्म गर्ने प्रस्ताव निर्णयार्थ मन्त्रिपरिषदमा पेस गरेको थियो । गृह मन्त्रालयले ऊर्जा, इन्धन र खानेपानीको खपत घटाउन तथा वातावरण प्रदूषण घटाउन अन्तर्राष्ट्रिय प्रचलनअनुसार साताको दुई दिन शनिबार र आइतबार बिदा दिने र कार्यालय समय बिहान ९ बजेदेखि ५ बजेसम्म गर्न प्रस्ताव गरेको छ ।



