काठमाडौं – दुई तिब्बती नागरिकको साथबाट मेसिन रिडेबल पासपोर्ट एमआरपी बरामद भएको छ । राजधानीबाट थाई एयरवेजको विमानद्वारा थाइल्यान्डको बैंकक जान लागेका तिब्बती नागरिकबाट एमआरपी बरामद भएको हो ।
सुरक्षा जाँच गर्ने क्रममा नेपाल प्रहरीका कर्मचारीले सोधपुछ गर्दा नेपाली बोल्न नजानेपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ । सिन्धुपाल्चोकबाट नागरिकता लिएर राहदानी बनाउने तिब्बती नागरिक लोब्साङ जमाङ र केशालग रिन्जिन हुन् । एमआरपीको प्रचलनमा आउनुअघि हस्त लिखित कूटनीतिक र अन्य राहदानीको दुरुपयोगले सीमा नाघेको थियो । त्यही ताका एमआरपी (मेसिन रिडेबल पासपोर्ट) आएपछि धेरैले त्यस्तो दुरुपयोग नहुने अपेक्षा गरेका थिए ।
तर एमआरपी समेत झूटो विवरण पेस गरेर बनाउने गरेको पाइएको छ । दुई तिब्बती नागरिकबाट नक्कली नागरिकता पेस गरेर बनाएको एमआरपी बरामद भएपछि यसको खुलासा भएको हो ।
लोब्साङको साथबाट ०६११२७२९ र रिन्जिनको ०६११२७२९ नम्बरको राहदानी बरामद भएको छ । काठमाडौं प्रहरीको जिम्मा लगाएपछि उनीहरूको नागरिकता जाँच गरिएको थियो । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकलाई नागरिकताका बारेमा सोधपुछ गर्दा त्यहाँबाट जारी नभएको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी धिरजप्रताप सिंहले बताए ।
सिंहका अनुसार उनीहरूले एमआरपी बनाउनका लागि नक्कली नागरिकता बनाएका थिए । ‘नेपाली बोल्न जान्दैनन्, उनीहरूलाई नेपाली राहदानी बनाउन सघाउने कुनै गिरोह छ,’ सिंहले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’
जल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट १००१३५ नम्बरमा लोब्साङ र रिन्जिनको १००१३९ नम्बरको नागरिकता पेस गरेका थिए । तर जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले उनीहरूको नाममा कुनै नागरिकता जारी नभएको बताएको छ ।



