काठमाडौं – तिब्बतीयन प्लेटोमा उत्पन्न भएको मौसमको चक्रीय प्रणालीका कारण सोमबार मध्य पहाडी र हिमाली भागमा तापक्रममा गिरावट आउनुका साथै केही बेर वर्षासमेत भएको छ । वर्षासँगै राजधानीसहित मध्य पहाडी र हिमाली भागमा जाडो बढेको छ ।
सोमबार मध्याह्नपछि भएको मौसमी परिवर्तनका कारण राजधानी र काठमाडौंबाट पश्चिमका पहाडी र हिमाली भागमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् विद्यारत्न शाक्यले ‘अकस्मात् मौसममा चक्रीय प्रणाली उत्पन्न हुँदा मौसम एकाएक परिवर्तन भएको’ बताए । मंगलबारसमेत पहाडी र हिमाली भेगमा बदली भई वर्षा हुने महाशाखाको अनुमान छ ।
मौसमविद् शाक्यका अनुसार सोमबार दिउँसो १७/१८ डिग्री सेल्सियस रहेको राजधानीको अधिकतम तापक्रम अपराह्न मौसम परितर्वन हुनासाथ एक्कासि १३ डिग्रीमा झरेको थियो । राजधानीको न्यूनतम तापक्रम ७.५ डिग्रीमा झरेको छ । काठमाडौं पश्चिमका भागमा समेत अधिकतम तापक्रममा गिरावट आएको महाशाखाले जनाएको छ । जुम्ला र मुस्ताङको न्यूनतम तापक्रम माइनसमा झरेको छ । सोमबार जुम्लाको तापक्रम माइनस दुई दशमलव तीन र मुस्ताङमा माइनस एक डिग्री रेकर्ड भएको छ ।



