पैसा लुट्न दुई युवतीले एक वृद्धाको हत्या गरेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार २२ वर्षीया जुनिता थापा र ३४ वर्षीया कल्पना गिरीले बेसबलको ब्याटले हानेर नक्साल दुगड मार्गमा बस्ने ६९ वर्षीया बनुदेवी राणाको हत्या गरेका हुन्। अमेरिकामा दसैं मनाएर नेपाल फर्किएकी राणा सम्पर्कविहीन भएपछि उनका आफन्तले प्रहरीलाई खबर गरेका थिए।
काग तिहारका दिन उनीहरूले घरमा एक्लै बस्दै आएकी राणाको हत्या गरेर धनमाल लुटेको महाशाखा प्रमुख देवेन्द्र सुवेदीले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराए। सोमबार प्रहरीले घरकै बेडरूममा विभत्स हत्या गरिएको अवस्थामा उनको शव फेला पारेको थियो।
प्रहरीका अनुसार गत आइतबार राणा बेडरुममा बसेर टिभी हेरिरहेको अवस्थामा थापा र गिरी प्रवेश गरी ब्याटले टाउकोमा हिर्काएर बेहोस बनाएको र पछि घाँटी थिचेर हत्या गरेको खुलेको छ। जेनिसा भनिने जुनिता हत्याको प्रमुख योजनाकार हुन्। उनी श्रीमानसँग सम्बन्धविच्छेद गरेर गागलफेदी थापागाउँमा एक्लै बसदै आएकी थिइन्।
श्रीमानको मृत्युपछि राणा काठमाडौंमा एक्लै बस्दै आएकी थिइन्। छोरी अमेरिकामा भएकीले उनी कहिले अमेरिका त कहिले नेपालमा बस्ने गरेको प्रहरीले जनाएको छ।
राणाको घरमा जेनिसाको बाक्लै आउजाउ थियो। हत्या हुनुभन्दा अगाडि १० दिनसम्म उनी नक्सालमा राणासँगै बसेकी थिइन्। उनी विदेशिक रोजगारीमा जाने प्रयासमा थिइन्।
अनुसन्धान अधिकारीका अनुसार भर्खरै छोरी भेटेर फर्किएकी राणासँग प्रशस्त पैसा रहेको अनुमान गर्दै जेनिसाले हत्या योजना बनाएकी हुन्। हत्याको चार दिनअगाडि उनले कल्पनासँग कमलपोखरीको सिटी सेन्टरमा बसेर राणाको हत्या योजना बनाएको प्रहरीले जनाएको छ।
हत्या गर्नुअघि जेनिसा एक्लै राणाको घर गएर कोही भए-नभएको रेकी गरेर फर्किएपछि बेलुका ८ बजे कल्पना गिरीलाई लिएर गएकी थिइन्। राणा टिभी हेरिरहेको बेला उनीहरूले घरमै राखेको बेसबलको ब्याटले राणाको टाउकोमा हिर्काएका थिए।
ब्याटले टाउको र शरीरका अन्य भागमा हिर्काएर बेहोस बनाएपछि उनीहरूले सिरानीले मुख छोपेर घाँटी थिचेर हत्या गरेका थिए। त्यसपछि घरमा रहेको एक हजार पाँच सय अमेरिका डलर, एक लाखभन्दा बढी नगद र सुनका गहना लुटेर लगेको प्रहरीले बतायो।
घटनाको प्रकृति हेरी लुटपाटको उद्देश्यले हत्या गरिएको अनुमान प्रहरीको थियो। राणा र घरको अवस्थाबारे पूर्ण जानकार व्यक्तिको संलग्नता हुन सक्ने आशंका गर्दै प्रहरीले अनुसन्धान थालेको थियो। राणाको घरमा जेनिसाको बाक्लो आउजाउ रहेको तर हत्यापछि उनी सम्पर्कविहीन सूचना पाएपछि उनको खोजी गर्दै प्रहरीले चितवनबाट पक्राउ गरेको थियो।



