काठमाडौँ – पोर्चुगलको आल्भार्ग क्षेत्रमा तीब्र गतिमा हुइँकिएर आएको कारले ठक्कर दिँदा कामबाट साइकलमा फर्किरहेका गुल्मीका ४२ वर्षीय बेगबहादुर थापाको घटनास्थलमै मृत्यु भएको छ।
पुर्ख्यौली घर गुल्मी भएर पोर्चुगल आउनुअघि थापा बुटवलमा बसोबास गर्ने गरेको लक्ष्मण देवकोटाले जानकारी दिए। उनीसँगै श्रीमती लक्ष्मी थापा र नाबालक दुई छोराछोरी पनि आल्भार्गमा बस्दै आएका थिए। साइकलको निम्ति सुरक्षित बाटो नभएको गिया सपिङ क्षेत्रमा काम गर्ने थापा एक्लै घर फर्कँदै थिए।
भाइटीकाको दिन राति थापाको मृत्यु भएपनि भोलिपल्ट बेलुकी मात्रै परिवारले जानकारी पाएका थिए। घटनास्थलको अनुसन्धानमा संलग्न प्रहरीले रातो रङको कारले ठक्कर दिएको जानकारी पाए पनि कसैलाई पक्राउ गर्न नसकिएको बताएको देवकोटाले जनाए।



