सबै सुखसुविधा उपलब्ध भए पनि म्याग्दीका गाउँबाट शहर बसाइँ सर्नेको लर्को

– घनश्याम खड्का

 

म्याग्दी – गाउँमै यातायात, स्वास्थ्य, खानेपानी, बिजुली, घरघरमा केबुल टेलिभिजन, कम्प्युटर शिक्षासहित अंग्रेजी माध्यममा पढाइ हुने विद्यालय, टेलिफोन र इन्टरनेटजस्ता आधुनिक प्रविधियुक्त सुखसुविधा उपलब्ध भए पनि गाउँबाट बसाइँ सर्नेको लर्को उस्तै छ ।

 

यस क्षेत्रका प्रायः बस्तीबाट वर्षमा कम्तीमा तीन घरले बसाइँ सर्ने गरेका छन् । हरेक जनगणना र निर्वाचन मतदाता संख्यामा जिल्लाको उत्तरी भेगका अधिकांश गाविसको जनसंख्या घटेको घट्यै छ । बसाइँसराइ बढेपछि यी बस्तीका कम्तीमा ५० प्रतिशत खेतबारी बाँझो छ । ‘२०४० सालमा हिस्तान गाविसको १ र २ वडा रहेको घराम्दी गाउँमा एक सय ३५ घरकुरिया र ८ सय बढी जनसंख्या थियो । तर २८ वर्षपछि ०६८ सालमा घरधुरी घटेर १ सय १५ र जनसंख्या जम्मा चार सयमा ओर्लेको छ । अधिकांश खेतीयोग्य जग्गामा पत्यार नलाग्ने जंगल भरिएको छ,’ स्थानीय घराम्दी निम्नमाध्यमिक विद्यालयका शिक्षक तीर्थबहादुर फगामी मगरले सुनाए ।

 

राष्ट्रिय जनगणना ०६८ अनुसार पनि जिल्लाको जनसंख्या घट्दो क्रममा देखिएको छ । ०५८ सालमा जिल्लाको जनसंख्या एक लाख १४ हजार चार सय रहेकामा ०६८ मा घटेर एक लाख १२ हजारको हाराहारीमा सीमित छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जनसंख्या बर्सेनि घट्दै गएपछि जिल्लाका उत्तरी भेगमा स्वास्थ्य कार्यक्रम प्रभावित भएका छन् ।

श्रीमान्को वैदेशिक रोगजारीसँगै गाउँबाट २०/४० वर्ष उमेर समूहका अधिकांश महिला बालबच्चासहित बजार झर्ने हुँदा गाउँमा गर्भवती महिला पनि भेटिन छोडेका छन् । ‘गर्भवती महिलाका लागि मोबाइलमा मातृशिशु शिक्षा कार्यक्रम लिएर शिख, हिस्तान र राम्चे गाविस पुग्दा एउटा गाविसमा मुस्किलले ३ देखि ९ जनासम्म गर्भवती भेट्यौं । परिवार नियोजनको सही उपयोगले यस्तो भएको होइन रहेछ, बसाइँसराइले गाउँमा युवायुवती नै भेटिएनन्,’ यहाा क्रियाशील एक संस्थाका राजेन्द्र पौडेलले बताए ।


प्राकृतिक विपत्ति, सामाजिक बहिष्करण वा सशस्त्र द्वन्द्वका कारण थातथलोबाट छोड्नुपर्ने अवस्थामा बाहेक सामाजिक हैसियत देखाउन र सहर मा प्राप्त रोजगारी, शिक्षा, यातायातलगायतका अवसर तथा सुविधाले आकषिर्त गर्छ । बसाइँसराइले परम्परागत नेपाली समाजका मूल्यमान्यता हराउने र संस्कृति लोप हुने अवस्था मात्र छैन, कृषि उत्पादन प्रक्रिया अवरुद्ध भएको छ ।

अन्य समाचारहरु