इजिप्टका लागि नेपाली राजदूत श्यामलाल तबदारको हृदयघातका कारण मृत्यु

– सुरेन्द्र पौडेल

 

काठमाडौं  – इजिप्टका लागि नेपाली राजदूत श्यामलाल तबदारको हिजो हृदयघातका कारण मृत्यु भएको छ। छाती दुखेपछि राजधानी कायरोस्थित राजदूत निवासबाट अस्पतालतर्फ लग्दै गर्दा बाटैमा उनको मृत्यु भएको हो। परराष्ट्र मन्त्रालयले ६७ वर्षीय राजदूत तबदारको मृत्युको पुष्टि गरेको छ। 

 

इजिप्टस्थित नेपाली दूतावासका सहचारी प्रेमप्रसाद बरालका अनुसार बिहान पाँच बजे (स्थानीय समय) उठेर बाथरुम गएका राजदूत तबदार खोकी लागेपछि छाती दुख्यो भन्दै बाहिर निस्केका थिए। कायरोको मोहनडेसिनस्थित दूतावास भवनको माथिल्लो तलामा राजदूतको क्वार्टर छ।

एकछिन आराम गर्दा पनि छातीको दुःखाइ कम नभएपछि श्रीमती रुक्मिणी र अन्य सहयोगीले उनलाई निवासबाट १० मिनेट टाढा रहेको फ्रेन्स अस्पतालतर्फ लगेका थिए। बरालका अनुसार उनलाई बिहान ६ः३५ मा अस्पतालतर्फ लगिएको थियो। चिकित्सकले बिहान ६ः५० बजे राजदूतको बाटोमै मृत्यु भइसकेको घोषणा गरेका थिए।


एमाले वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेला २०६६ कात्तिक १२ गते बसेको मन्त्रिपरिषद बैठकले एकसाथ तबदारलाई इजिप्ट र सुरेशचन्द्र चालिसेलाई बेलायतको राजदूत नियुक्त गरेको थियो। लगत्तै कार्यभार सम्हाल्न कायरो पुगेका तबदार मधुमेह र उच्चरक्तचापका बिरामी थिए।
गत वर्ष मुटुमा समस्या देखिएपछि उपचारका लागि उनी काठमाडौं आएका थिए। गंगालाल हृदय केन्द्रले नर्भिक अस्पतालमा रिफर गरेपछि गत वर्ष पुसमा उनको ‘एनजिओ प्लास्टी’ (मुटमा नसाको अवरोध खोल्ने) गरिएको थियो।


मोरङ जिल्लाको विराटनगर उपमहानगरपालिका-५ कञ्चनबारीमा जन्मेका राजदूत तबदारले पाकिस्तानबाट एमबिबिएस गरेका थिए। त्यसपछि उनी नेपाल फर्की राजनीतिमा लागेका थिए। २०४०/०४१ सालतिर उनी मोरङ जिल्ला पञ्चायतमा उपसभापति भएका थिए। २०४८ सालमा भएको संसदीय निर्वाचनमा तबदार मोरङ निर्वाचन क्षेत्र नं. ६ मा नेपाली कांग्रेसका तर्फबाट विजयी भएका थिए।

२०५२ सालको मध्यावधि निर्वाचनमा उनी मोरङ क्षेत्र नं. ६ मा एमालेका कमल कोइरालासँग हारेका थिए। २०६२/०६३ को परिवर्तनपछि तबदारले नेपाली कांग्रेस त्यागी मधेरी जनाधिकार फोरम, लोकतान्त्रिकमा प्रवेश गरेका थिए। फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार उनका नजिकका आफन्त हुन्। गच्छदारकै पहलमा फोरम लोकतान्त्रिकको कोटामा तबदार तीन वर्षअघि राजदूतमा नियुक्त भएका हुन्।

तबदारको शव नेपाल ल्याउने प्रक्रिया बिहीबार नै सुरु गरिएको परराष्ट्रले जनाएको छ। इजिप्टमा हाल अधिकृत तहको कर्मचारी उपस्थित नभएकाले उनको शव नेपाल पठाउन इजरेलस्थित नेपाली दूतावासका उपप्रमुख रमेश खनाल शुक्रबार कायरो जाने बताइएको छ। शव नेपाल पठाउन कार्गो बुकिङ गरिसकिएको सहचारी बरालले जानकारी दिए। दुई-तीन दिनभित्र शव नेपाल आइपुग्ने उनले जनाए।