काठमाडौँ । चीनका विभिन्न विश्वविद्यालयमा पढ्न गएका ६० भन्दा बढी विद्यार्थी अलपत्र अवस्थामा रहेको तिनका अभिभावकहरुले बताएका छन् । चीनको साउदर्न विश्वविद्यालयमा एमबिबिएस गर्न गएका आठ, लाउनिङ विश्वविद्यालयमा एमडी गर्न गएका १७, चाउचाङ विश्वविद्यालयमा एमबिबिएस गर्न गएका छ, सोही विश्वविद्यालयमा एमडी गर्न गएका आठ, जिङ्दाओ विश्वविद्यालयमा एमबिबिएस गर्न गएका ११, र तेनजिन विश्वविद्यालयमा एमबिबिएस गर्न गएका दुई, र एमडी गर्न गएका २७ जना विद्यार्थी अलपत्र परेका हुन् ।
काठमाडौँ महानगरपालिका १३, कालिमाटीस्थित चण्डी कम्प्लेक्समा रहेको मदरल्याण्ड च्यारिटेबल फाउण्डेसनका सञ्चालकहरुले उक्त विश्वविद्यालयहरुमा विद्यार्थीका तर्फबाट बुझाउनुपर्ने शुल्क नबुझाएका कारण विश्वविद्यालयहरुले विद्यार्थीलाई फिर्ता पठाउने भएपछि विद्यार्थी अलपत्र परेका हुन् ।
आज रिपोर्टर्स क्लबमा आयोजना गरिएको साक्षात्कार कार्यक्रममा पीडित विद्यार्थीका अभिभावक पुरुषोत्तम ढुङ्गेलले मदरल्याण्ड च्यारिटेवल फाउन्डेसनका सञ्चालकहरु क्रमशः डा. मुकेश झा, इन्जिनियर डा. राधा झा तथा प्रविण पहरीले अध्ययन शुल्क समयमा नै भुक्तान नगरेका कारण विद्यार्थीलाई विश्वविद्यालयहरुले फिर्ता पठाउन लागेको बताए ।
पीडित अभिभावकहरुले सो फाउन्डेसनमार्फत् एमबिबिएस अध्ययन गर्न जनही रु १२ लाख र एमडीका लागि जनही रु ७ लाख ५० हजार भुक्तान गरेको बताइएको छ ।
करिब रु चार करोड ५० लाख असुल गरेका सञ्चालक त्रयले पहिलो चरणअन्तर्गतको रकम विश्वविद्यालयलाई बुझाए पनि दोस्रो र तेस्रो चरणको किस्ता नबुझाइदिएकै कारण आफ्नो छोरा अलपत्र अवस्थामा परेको अभिभावक अर्जुनकुमार थापाले सो अवसरमा बताए ।



