– बिनोद घिमिरे
लिस्बोन – हेल्प नेपाल नेट्वर्कद्धारा स्थापना गर्न लागिएको १० करोड राशिको अक्षकोषका लागी पोर्चुगलका नेपालीहरुले चार हजार पाच सय युरो सहयोग गरेका छन । पोर्चुगलको लिस्बोनमा बसोबास गर्ने ब्यबशायी तथा सर्वसाधारण गरी करीब ५० जना नेपालीले यो अभियान लाई सघाएका छन ।
हेल्प नेपाल नेट्वर्कका सस्थापक तथा बरिष्ठ पत्रकार रबिन्द्र मिश्रको उपस्थितीमा सम्पन्न कार्यक्रम नेपाल पोर्चुगल कला, संस्कृती तथा साहित्य संचार परिषदको आयोजनामा भएको थियो । अन्य युरोपियन देशको तुलनामा कम आय भएको देशबाट यति ठुलो रकम संकलन हुनु खुशीको कुरा भएको सस्थापक मिश्रले बताएका छन । कार्यक्रममा मिश्रले परोपकारी अभियानमा पोर्चुगलबासी नेपालीहरुको उदार भावनाको कदर गर्दै सम्पूर्ण नेपालीहरुले आ-आफ्नो ठाँउबाट समृद्ध नेपाल निर्माणमा कुनै न कुनै किसिमले योगदान दिनु पर्ने आवश्यकता रहेको बताएका छन ।
हेल्प नेपाल नेटवर्कले नेपाली-नेपालीको सहयोगमा नेपालका बिभिन्न ग्रामिण क्षेत्रका चालिस भन्दा बढी स्कूल, ४० भन्दा बढी पुस्तकालयहरु निर्माण गरिसकेको छ भने आपतकालिन स्थितिहरुमा धेरै पटक राहत सामाग्री प्रदान गरिसकेको छ। चौध वटा देशमा शाखा भएको नेटवर्कले आफ्ना परोपकारी गतिबिधीलाई अझ सुदृढ र संस्थागत गर्न गत पाँच महिना यता नेपाली नेपालीको सहयोग बाट रु १० करोडको परोपकारी अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएको छ। सो कोषमा अहिले सम्म नब्बे लाख रुपैया भन्दा बढी जम्मा भैसकेको छ।

कार्यक्रममा हेल्प नेपाल का सस्थापक मिश्रले सस्थाको बारेमा जानाकारी दिदै सस्थाले गरेका कार्यको बारेमा एक डकुमेण्ट्री प्रस्तुत गरेका थिए । परिषद्का अध्यक्ष कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा भिम केसी कमल ले हेल्प नेपाल र पोर्चुगलका नेपालीहरुको अवस्थाको बारेमा जानकारी गराएका थिए । स्वागत मन्तब्य बिनोद घिमिरे ले राखेका थिए भने कार्यक्रमको संचालन बिष्णु गौतम ले गरेका थिए । सोही कार्यक्रम मै परिष्द्को तर्फबाट अध्यक्ष कुमार श्रेष्ठ, ब्यबशायी नरेन्द्र हमाल र टंक सापकोटाले मिश्रलाई प्रमाण-पत्र र खादाले सम्मान गरेका थिए । कार्यक्रम होटेल फेनिक्स मा बिहिबार सम्पन्न भएको थियो ।