युरोपका अन्य देशहरुको तुलनामा सहज आप्रवाशी नीति र बैधानिक बसोबास पश्चात परिवार झिकाउन पाउने व्यवस्थाले गर्दा पोर्चुगलमा नेपालीहरुको आकर्षण बढ्दै गएको छ । पछिल्ला बर्षहरुमा बेलायत, पोल्याण्ड, ईजरायल लगायतका देशहरुबाट यहाँ आउने नेपालीहरुको संख्या अत्यधिक रहेको छ । सरकारी जागिरे, शिक्षक, कलाकार, पत्रकार लगायत प्रतिभावान व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको छ । पर्यटन, वाईन उत्पादन, कृषि, बन्दरगाह ईत्यादी क्षेत्रमा प्रख्यात पोर्चुगलमा नेपालीहरुले मुख्यतया होटल, रेस्टुरेन्टमा काम गर्दछन । आर्थिक मन्दी संगै बढ्दै गएको बेरोजगारीका कारण हालका दिनहरुमा नेपालीले कृषि फार्महरुमा काम गर्न थालेका छन् । यहाँको न्युनतम मासिक आम्दानी चार सय पचासी युरो रहेको छ । जुन युरोपका अन्य देशहरुको भन्दा अत्यन्त न्युन हो । होटल- रेस्टुराँमा खाना बनाउने शिप भएका नेपालीहरु क्षमता अनुसार हजार-एघार सय युरोसम्म मासिक कमाई गर्दछन् भने अन्यले औसतमा पाँच-सात सयसम्म कमाउदछन् । चरम मन्दीको शिकार नेपालीहरु पनि हुन थालेका छन् । बस्ने र काम गर्ने अनुमति भएका थुप्रै बेरोजगार छन् ।
धेरै नेपालीहरुले पेपर बन्ने र काम पाउने आशामा नेपालबाट पैसा झिकाएर आफनो दैनिकी गुजारेका छन् । लाखौ रुपैयाँ दलाललाई दिएर पोर्चुगल पुगेका नेपालीहरु यहाँको अवस्था देखेपछि छाँगाबाट खसे जस्तै हुन्छन् । कतिपय त यहाँको अवस्थाबाट दिक्दार भएर नेपाल पनि फर्कन थालेका छन् । रोजगारीका अलावा ब्यवसाय गर्ने नेपालीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । यहाँका ब्यवसायीले अर्थोपार्जन संगसंगै नेपालको पर्यटन ब्यवसायलाई पनि टेवा पुर्याउदै आएका छन् ।
नेपालका हिमाल तथा पर्यटकीय स्थलका नाममा रहेका रेस्टुरामा नेपाली कला-संस्कृति झल्कने वस्तुहरु सजाईएका हुन्छन् । यसरी संचालित ब्यवसायमा थुप्रै नेपालीले रोजगारी पाएका छन् । रेस्टुराँ ब्यवसाय संचालन गरि सफलता चुम्नेमा मकर हमाल, नरेन्द्र हमाल, पूर्ण हमाल, रमेश गुरुङ, कुमार श्रेष्ठ, टंक सापकोटा, सुर्य हमाल, हेम सापकोटा, मान बहादुर पुर्जा, लक्ष्मी प्रसाद सापकोटा, वाला बिक, रंजन घिमिरे आदि उल्लेखनीय नामहरु हुन् । पछिल्ला दिनमा नेपालीले दैनिक उपभोग्य सामानका पसल, ह्याण्डी क्राफ्ट, साइवर ब्यवसाय संचालनमा ल्याएका छन् । ब्यवसाय गर्ने धेरै नेपालीहरु राजधानी लिस्बोन केन्द्रित छन् भने छिटफुट राजधानी बाहिर पनि छन् । मन्दीको यस विषम परिस्थितिमा यहाँका नेपाली आर्थिक संकटको चपेटामा पर्न थालेका छन् । पुराना ब्यवसायीको कारोबार खस्कदो छ भने नयाँलाई खर्च धान्न मुश्किल रहेको अवस्था बिद्यमान छ । पोर्चुगलका लिस्बोन, कुईम्ब्रा, अल्गार्वे, पोर्तो, भिला रियल लगायतका शहरमा नेपालीको बसोबास रहेको छ । सबैभन्दा धेरै राजधानी लिस्बोनमा बसोबास गर्दछन् ।
नेपालीहरुको संख्या वृद्धि सँगै यहाँ संघ-सस्थाहरुको गठन पनि तिब्र गति मै रहेको छ । नेपाली समाज लिस्बोन र सगरमाथा समाज अल्गार्व यहाँका सबै भन्दा पुराना सस्था हुन् तर हाल ति सस्थाहरु निस्क्रिय छन् । सन् २००६ मा पूर्ण हमालको अध्यक्षतामा गठन भएको नेपालीहरुको छाता संगठन गैर आवाशीय नेपाली संघ यहाँको सबैभन्दा ठुलो सँस्था हो । गैर आवाशीय नेपाली संघ (एनआरएन) को स्थापना संगै नेपालीका सामुहिक गतिविधिमा तिब्रता आएको हो । सन् २०१० मा एनआरएन पोर्चुगलले युरोपियन सम्मेलन सम्पन्न गरेको थियो। नेपालीका दुख:सुख मा हातेमालो गर्दै आएको संघले नेपालमा सामुहिक लगानीका लागि करिब तीन करोडको प्रतिबद्धता जनाई कार्यन्वयनको प्रक्रियामा रहेको छ ।
स-साना च्यारिटी सहयोग, भैपरी आउने सहयोग, तालिम, भाषा कक्षा लगायतका क्रियाकलाप यसले संचालन गर्दै आएको छ । साथै संघले नेपालीका आपसी मतभेद र झैँ-झगडा मा मध्यस्तको भूमिका समेत निर्वाह गर्दै आएको छ। पोर्चुगिज् र नेपालीको आपसी सम्बन्ध विकास तथा बिस्तारको मुख्य उद्देश्यले स्थापित पोर्चुगल नेपाल मैत्री संघले च्यारिटी सहयोग र यहाँ आयोजना हुने विभिन्न खाले प्रदर्शनीमा नेपालको प्रचार-प्रचार र पहिचान बढाउँदै आएको छ । यदाकदा मैत्री संघको कार्यक्रममा झुल्किने पोर्चुगिज् हिमाल आरोही ज्वाओ गारसियाले नेपाल चिनाउन सहयोग पुर्याएका छन् । उनले बिना अक्शिजन सगरमाथाको सफल आरोहण गरेका थिए । संसारका धेरै जसो अग्ला हिमाल आरोहण गरिसकेका गारसियाले सामान्य नेपाली भाषा पनि बोल्छन्। यहाँका टिभि च्यानलमा प्रसारण हुने उनका डकुमेन्ट्रीले पनि नेपालको चिनारीको लागि टेवा पुर्याउदै आएको छ । नेपाल पोर्तुगल कला, संस्कृति तथा साहित्य संचार परिषद्ले नेपाली चाडपर्व मनाउने, साहित्यिक गोष्ठी र बिबिध साँस्कृतिक कार्यक्रम लगायतका क्रियाकलाप संचालन गर्दै आएको छ । नेपालका प्रमुख तीन राजनीतिक दलका भातृ संगठन जनसम्पर्क समिति, प्रगतिशिल मञ्च र लोकतान्त्रिक मंच आ-आफना उद्देश्यका साथ् सक्रिय छन् । यिनका अतिरिक्त जातीय र क्षेत्रीय संघ-संगठनहरु पनि त्यतिकै खुलेका छन्। तमु समाज, आदिवासी जनजाति महासंघ, मगर समाज, किराँत समाज, शेर्पा समाज, उत्पीडित जातीय समाज, क्षेत्री समाज, नेवारी समाज, म्याग्देली प्रवासी संघ, बाग्लुङ्ग सहायता कोष, रुपन्देही समाजले समयानुकुल आफना कार्यक्रमहरु पस्कँदै आएका छन् । दुई-तीन बर्ष अगाडी नगन्य मात्रा हुने कार्यक्रमहरु अहिले हप्तौ पिच्छे जसो भईरहेका हुन्छन् । संघ-सँस्थाको संख्यात्मक वृद्धि भन्दा गुणात्मक वृद्धिलाई ध्यान दिंदै नेपालीहरुका बीच भातृत्व र सकारात्मक सोचको विकास अहिलेको आवशयकता हो । प्रवाशमा हामी कुनै क्षेत्र, जाति, समुदाय र सिद्दान्तको रुपमा परिचित नभई नेपाली हौं भन्ने भावना जागृत गर्नुमा सबैको कल्याण हुनेछ । यहाँका नेपाली मिडियाहरुको चर्चा गर्दा सबैभन्दा पुरानो अनलाईन पोर्टल युरोनेपालडटकम हो तर यो साईट हाल पोर्चुगलबाट संचालित छैन । सन् २००८ देखि नेपाल पोर्चुगलडटकम निरन्तर संचालनमा छ । पोर्तोनेपालडटकम र पिटीनेपाल डटकम केही समय अघिबाट निस्क्रिय छभने पछिल्ला दिनमा सिमानापारीडटकम, सहारा संसारडटकम र नमस्तेनेपालीडटकम संचालनमा छ । हालसालै नेपाली वेभ नामक पहिलो पाक्षिक छापा पत्रिकाको शुभारम्भ भएको छ। यहाँका सबैजसो संचारमाध्यम हरुले पोर्चुगलका गतिविधिहरुलाई बिशेस महत्वका साथ समेटने गर्दछन् ।
नेपालबाट यहाँ पढ्न आउने बिद्यार्थीको संख्या सुन्य प्राय: छ । Eramus Student exchange programme अन्तर्गत छात्रवृति पाएर अन्य देशबाट आएका बिद्यार्थीहरु यदाकदा भेटिन्छन । एक मात्र नेपाली प्राध्यापक डा. महेन्द्र पन्थी पोर्चुगलको ब्रागा युनिभर्सिटीमा प्राध्यापन गर्नुहुन्छ। सन् २०१० मा नेपाली बैज्ञानिक डा. रामबाबु यादवले यहाँको आणविक प्रयोगशालामा केही समय काम गरि अमेरिका फर्किनु भएको छ। प्राविधिक, ब्यावसायिक शिप र भाषाको अभावमा नेपालीले राम्रा अवसर प्राप्त गर्न नसकेको अवस्था छ । नेपाली बालवालिका र यही जन्मिएका (जो स्कुल, कलेज जान्छन्) बाट केही आशा गर्ने ठाउँ छ तर स्थापित अभिभावक बाहेक अरुहरुको यहाँको बसाई ट्रान्जिट जस्तो हुने गरेको छ । छ बर्षको बैधानिक बसाई पश्चात राहदानी आवेदन गर्न सकिने प्रावधानले अधिकांशले राम्रो अवसरको खोजीमा अन्य देशतिर जाने चलन बढ्दो छ । सन् २००८ पछि करिब तीन सय नेपालीले राहदानी लिएर नर्वे, बेल्जियम, डेनमार्क, स्विटजरल्याण्ड, जर्मनी, वेलायतलगायतका देशमा बसोबास गर्न थालेका छन् । यहाँ जन्मिएका बालवालिकालाई नेपाली भाषा, रितीरिवाज र सस्कृतिको बारेमा जानाकारी गराउन आधारभूत कक्षाको ब्यबस्था गरिनु पर्ने टड्कारो महशुस गरिएको छ । यसको बारेमा यहाँस्थित सम्पूर्ण नेपाली संघ-सस्थाहरुले पहल गर्नुपर्ने देखिन्छ। नेपाल कै जस्तो हावापानी भएकोले यहाको वातावरणमा घुलमिल हुन कुनै कठिनाई बोहोर्नु पर्दैन। नेपालीले खाने दाल, चामल, तरकारी र मर-मसला स्थानीय बजारमा सहज उपलब्ध हुने हुँदा खानाको लागि कुनै समस्या नै रहँदैन। वियर, वाईन, दुध लगायतका पेय पदार्थ नेपालमा भन्दा सस्तो मूल्यमा खरिद गर्न सकिन्छ। न्युन आय स्रोत भएका कारण एक्लैले सिंगो अपार्टमेन्ट लिन नसकिने हुदा अधिकांश नेपालीहरु २-३ परिवार मिलेर सामुहिक रुप



