चामलको बोराले थिचेर एकै घरका २ भाईको ज्यान गयो

आफ्नै किराना पसलमा चामलको बोराले पुरिएर एकै घरका दुई जना वालकको ज्यान गएको छ ।
रुकुम सदरमुकाम खलंगाका जयवहादुर वादीका छोराहरु १० वर्षिय मनिष वादी र ७ वर्षिय आकास वादीको ज्यान गएको हो । दुवै वालक जन्मजात शरीरको तल्लो भाग नचल्ने अवस्थाका थिए ।
पसलमा परिवारका अरु सदस्य नभएका बेला बिक्री गर्न राखिएका चामलको बोराले विहीवार विहान उनीहरुलाई थिचेको थियो । गम्भीर घाइते अवस्थामा उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको परिवारले जनाएको छ ।
काठ र जस्ता पाताले बनाइएको पसलमा वादी परिवारले २ वर्षदेखि किराना पसल सञ्चालन गर्दै आएका थिए । आमा मञ्जु भान्साको काममा लागेको र वावु जयवहादुर पसलको सामान किन्न गएका बेला घटना भएको हो । वादी परिवारका ४ जना सन्तान जन्मजात हातखुट्टा बाङ्गिने समस्या छ । दुई छोराको ज्यान गएपछि वादी परिवार शोकाकुल छ ।

अन्य समाचारहरु