– बिनोद घिमिरे
कारले ठक्कर दिएर निधन भएका बेग बहादुर थापाको परिवारलाई सहयोग स्वरुप संकलित रकम छ हजार सात सय चौरासी युरो हस्तान्तरण गरिएको छ। नोभेम्बर १५ गते राती भाईटीकाको दिन अल्गार्वे गियामा निधन भएका स्व. थापाको परिवारको सहयोगार्थ एनआरएन पोर्चुगलको अग्रसरतामा संकलित रकम अध्यक्ष रमेश कुमार गुरुङ र सहयोग समितिका संयोजक डिलाराम चापागाईले सोमबार संघको कार्यालय रोशियोमा आयोजित एक कार्यक्रममा मृतककी श्रीमती लक्ष्मी थापालाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन्।
मृतक परिवारको सहयोगको लागी लिस्बोनबाट तिन हजार चौवत्तर युरो, अल्गार्वे क्षेत्रबाट तिन हजार बत्तीस युरो र नर्वेबाट छ सय अठहत्तर युरो संकलन भएको थियो। अल्गार्वे क्षेत्रमा एन आर एन क्षेत्रीय समिति अध्यक्ष दिनेश शर्माको संयोजकत्वमा सहयोग समिति गठन गरिएको थियो। संकलित रकम मध्येबाट स्व. थापाको दाहसंस्कार र उनको परिवारलाई लिस्बोनमा स्थानान्तरण गरिएको छ भने बाकी रकम श्रीमती थापालाई नगद हस्तान्तरण गरिएको हो।
सहयोग समितिका संयोजक डिलाराम चापागाईले बेल्जियम तथा डेनमार्कका नेपाली साथीहरुले पनि सहयोग गर्ने आश्वासन दिएको र उक्त रकम प्राप्त हुना साथ् पिडित परिवारलाई हस्तान्तरण गरिने बताएका छन्। संघका अध्यक्ष गुरुंगले दुखको घडीमा सहयोग गर्ने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई धन्यवाद दिदै पिडित परिवारको अवस्था अत्यन्त नाजुक रहेकोले थप सहयोगका लागी आब्हान समेत गरेका छन् ।
यसैबीच स्व. थापाको परिवारको रेखदेख, बालबच्चाको स्कूलको ब्यबस्था, कागजी प्रक्रिया लगायत आवश्यक सहयोगका लागी एनआरएन पोर्चुगलका उपाध्यक्ष डिलाराम चापागाईको संयोजकत्वमा नरेन्द्र हमाल, लक्ष्मी प्रसाद सापकोटा, भिम केसी कमल, वालाराम बिक सम्मिलित पाच सदस्यीय समिति गठन गरिएको छ।
गुल्मी स्थायी घर भई बुटवलमा बस्दै आएका ४१ वर्षीय थापा लामो समयदेखि श्रीमती लक्ष्मी थापा र साना दुई छोरा-छोरी सहित पोर्चुगलमा बस्दै आएका थिए। आल्बुफेरामा काम गरि साईकलबाट घर फर्कदै गर्दा कारले ठक्कर दिई थापाको घटना स्थलमै मृत्यु भएको थियो। हालसम्म ठक्कर दिने कार र कार चालक पत्ता लागेको छैन।
३५ बर्षको उमेरमा आफनो र नाबालक छोरा-छोरीका एक मात्र साहारा रहेका पतिको आकस्मिक बिछोडले विछिप्त बनेकी लक्ष्मीका सामु बालबच्चा लालन पोषण नै प्रमुख समस्याको रुपमा रहेको छ। छोरा-छोरी सानै भएकाले काम गरेर जिविका चलाउने अवस्था पनि उनको छैन।