नेपालको द्वन्द्वकालमा यातना दिएको आरोपको एक नेपाली ब्र‌िटेनमा पक्राउ

नेपालमा द्वन्द्वका बेला गरिएका भनिएको अपराधको छानविन गर्न सत्य निरुपण आयोग गठन हुन नसकिरहेका बेला ब्र‌िटेनमा भने माओवादी विद्रोहताका नेपाली भूमीमा यातना दिएको आरोपमा एकजना नेपालीलाई गिरफ्तार गरिएको छ।

 

नेपालको सशस्त्र द्वन्द्वको बेला यातना दिएको आरोपमा ती नेपालीलाई ब्रिटेनको पूर्वी शहर ससेक्समा गिरफ्तार गरिएको ब्रिटिश प्रहरीले बताएको छ।

 

प्रहरीले बिहीवार गिरफ्तार गरेको ४६ वर्षीय ती व्यक्तिको परिचय खुलाइएको छैन।

 

ब्रिटेनमा दिइएको निवेदनका आधारमा ती व्यक्तिलाई प्रकाउ गरिएको बीबीसीका ससेक्सस्थित संवाददाताले जनाएका छन्।

 

ब्रिटिश प्रहरीको प्रतिआतंकवाद सम्बन्धि निकायले युद्ध अपराध र मानव अधिकार हननको आरोप लगाइएका व्यक्तिमाथि अनुसन्धान गर्ने काम गर्छ।

 

प्रहरीले दिएको संक्षिप्त विज्ञप्ती अनुसार ती व्यक्तिलाई ससेक्सको प्रहरी चौकीमा थुनामा राखिएको छ।

 

सुत्रहरुका अनुसार ती मानिस विरूद्ध ७२ घणटाभित्र मुद्धा लगाइन सक्छ।

अधिकारीहरुले ती व्यक्तिको निवास खानतलाशी गरेका छन्।

 

आफू पीडित भएको भनी दावी गर्ने परिचय नखुलाइएको पक्षका तर्फबाट वकिलहरुले जारी गरेका विज्ञप्तीमा ती मानिसले अब आफूले ‘नेपालमा नपाएको न्याय ब्रिटेनमा पाउने’ आशा गरेका जनाइएको छ।

 

नेपालको १० वर्ष लामो सशस्त्र द्वन्द्व कालमा झण्डै १६ हजारको ज्यान गएको थियो र हजारौं मानिसहरुलाई यातना दिइएको थियो।

 

सयौं बेपत्ता पारिएका थिए र हजारौं मानिसहरु विस्थापित भएका थिए।

 

ब्रिटेनको विरलै प्रयोग गरिने १९८८को युनिभर्सल जुरिस्डिक्सन भनिने युद्ध अपराध सम्बन्धी कानूनका आधारमा ती व्यक्तिलाई गिरफ्तार गरिएको बताइएको छ।

 

उक्त कानूनले ब्रीटेनलाई आफ्नो भूमिमा नभै अन्य मुलुकमा भएका र आफूसित सम्बन्धित नरहेका मानव अधिकार उल्लंघनका घटनाहरुमा आरोपितहरुलाई गिरफ्तार गरी कारवाही अगाडि बढाउने अधिकार दिएको छ।

 

– Agencies