निजी कारमा लुकाई ल्याएको दुई किलो सुन राजश्व अनुसन्धान टोली द्वारा काभ्रेमा बरामद

निजी कारमा लुकाई ल्याएको दुई किलो सुन राजश्व अनुसन्धान टोलीले काभ्रेमा बरामद गरेको  छ । तातोपानीबाट काठमाडौ जादै गरेको बा.१ च ६११२ नम्बरको कारबाट सुन बरामद भएको हो । बिभागका निर्देशक भरत सुवेदीको टोली चेकपोष्टमा खटिएको थियो ।
‘अबैध रुपमा चिनियाँ बजारबाट ल्याउन लागेको सुन बरामद गरेका छौ’ चेकपोष्टका अधिकृत उद्धव राउतले भने ‘आवश्यक अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडी बढाउन बरामद गरेको सुन राजस्व अनुसन्धान बिभागमा बुझाएका छौ ।’
राजस्वको टोलीले सुन बरामद गरेपनि कार चालक भने भाग्न सफल भएका छन । टोलीले सुरुमा चालकलाई कार्यालयमा लगेर उसको खानतलासी लिएको थियो । चालकबाट केही नभेटिपछि कार चेक गर्न जाँदा चालक भाग्न सफल भएका थिए ।
केही हप्ता अघि चिनियाँ बजार खासाबाट  रेडिमेट कपडा बोकेको  काठमाडौ आउँदै बा.२ ख २८२५ नम्बरको सिलबन्दी कन्टेनर भ्यानको चालक सिट भन्दा माथि हुडको सपोट पाता भित्र लुकाई ल्याएको ९ केजी सुन प्रहरी उपरीक्षक गीता उप्रेतीको नेतृत्वमा खटिएको प्रहरी टोलीलेे धुलिखेल चेकप्वाइन्टमा बरामद गरेको थियो ।
सरकारले १० ग्राम सुनको २ हजार ३ सय रुपैया राजस्व तोकेको छ ।  तस्करले त्यो राजस्व नतिरि अवैध रुपमा लुकाईछिपाई सुन ल्याउँछन ।  तस्कर भएर आएको सुन नेपालमा बेच्दा प्रतिकिलो २ लाख ३० हजार रुपैया नाफा हुन्छ । १ किलो सुन बोर्डर पारी पुर्‍याउँदा प्रतिकिलो १ लाख ८० हजार रुपैयाँ फाइदा हुन्छ ।

अन्य समाचारहरु