कोरियामा अबैधानिक कामदारको संख्या बढेपछि धरपकड तीब्र

कोरिया सरकारले रोजगार अनुमति प्रणली (इपीएस) मार्फत काम गर्न आएका प्रवासी मजदूर  अवैधानिक हुने क्रम बढेपछि बिभिन्न औद्योगीक क्षेत्रमा तीब्र धरकपड सुरु गरेको छ ।


अध्यागमनका कर्मचारीबाट अनसन, छनान, उइजङबो, प्यङथेक, किम्हे आदि क्षेत्रबाट नेपाल लगायत थाइल्याण्ड,कम्बोडिया, चीन, भियतनाम, बंगलादेशका करिब १ सय अबैधानिक प्रवासी मजदूर यसै हप्ता पक्राउ परेको प्रवासी मजदुर युनियनका एक प्रतिनीधिले बताए । धरपकडकै क्रममा नवलपरासी सम्पर्क समितिका एक पदाधिकारी सहित २० भन्दा बढी नेपाली कामदार पनि परेका छन् ।  अवैधानिक काम गर्दा गर्दै पक्राउ परेर नेपाल गएका तर नाम,वतन र राहदानी परिवर्तन गरि भाषा परीक्षा उत्तीर्ण गरेर पुन कोरिया आएका नेपाली कामदार समेत धमाधम पक्राउ पर्न थालेका छन् । साना तथा मझौला उद्योगहरुमा प्रवासी कामदार पूर्ति गर्न यहाको सरकारले औद्योगीक प्रशिक्षण प्रणालीलाई शंसोधन गर्दै २००४ को अगष्टबाट रोजगार अनुमति प्रणली (ईपीएस)लागु गरेको थियो ।


हाल कोरियामा १४ लाख प्रवासी रहेका छन् । यी मध्ये १ लाख ८० हजार ७ सय ९४ अबैधानिक रहेका छन् । संख्याको आधारमा ७.७ प्रतिशत मात्र अवैधानिक भए पनि पछिल्लो समयमा इपीएसबाट आएका कामदारहरु अवैधनिक हुने क्रम बढ्दै गएको कोरियाली कानुन मन्त्रालयले जनाएको छ । सो मन्त्रालयले जनाए अनुसार २०१२ मा ४२ हजार ३ सय ७९ को भिसा अवधि समाप्त भएका मध्ये १५ हजार ८ सय ४ अर्थात ३७.३ प्रतिशत कामदार अवैधानिक भएका थिए । २०१३ मा करिब ५० हजार कामदारको भिसा अवधि समाप्त हुदैछ । अवैधानिक नेपाली कामदारको संख्या करिब १० प्रतिशत रहेको छ ।


प्रवासी मजदूरहरुको अवैध बसोबास एक समस्या भएकाले उनीहरुको ब्यापक खोजि भइरहेको पनि मन्त्रायलले जनाएको छ । गत वर्ष मात्र ३ हजार २३ जनालाई पक्राउ गरिएको थियो । कार्यअवधि समाप्त भएपछि स्वदेश फर्किने वातावरण नभएका कतिपय देशका कामदारहरु शरणार्थी भएर बस्ने गरेकाले देशमा शरणर्थीको संख्या समेत बढ्दै गएको उक्त मन्त्रालयले जनाएको छ । गतबर्षको तुलनामा ४०.२ प्रतिशतले शरणार्थीको संख्या बृद्धि भएको पनि तथ्याङ्कमा उल्लेख छ ।


सरकारले अबैधानिक कामदारको संख्या कम गर्न यसै बर्षदेखि एउटै कम्पनीमा लगातार ४ बर्ष १० महिना काम गरेको मजदूरलाई अर्को एक कार्यकाल काम गर्नेसक्ने नियम बनाए पनि प्रभावकारी नभएकाले अबैधानिक कामदारको संख्या बृद्धि हुने गरेको प्रवासी मजदूर युनियनका अध्यक्ष उदय राई बताउन्छन् । आफ्नो कारणले कार्यक्षेत्र परिवर्तन गरेका कामदार दाश्रो कार्यकालकोसुबिधाबाट बन्चित हुदै आएका छन् ।