राजदूत बनेर खाडीभूमीमा आएका कथाकार मधुवन पौडेलको कथा संग्रह ‘अन्त्यहीन परिवेश’ सोमबार महावुल्लामा आयोजित एक साहित्यिक समारोहमाझ विमोचन भयो ।
साहित्यकार एवं अभिजमान स्मृति ट्रष्टका संस्थापक होमबहादुर क्षेत्रीले राजदूत पौडेलको कथा संग्रहको विमोचन गरेका थिए । चार दशकदेखि कथा लेखनमा लागीपरेका मधुवनका २२ पछिल्ला कथा यो संग्रहमा समेटिएका छन् ।
२०५४ सालदेखिका आफ्ना प्रतिनिधि कथाहरु यो संग्रहमा संकलित रहेको भन्दै कथाकार पौडेलले खाडी मुलुकमा आइपुगेर विमोचन गर्न पाउादा अनौठो अनुभुती भैरहेको सुनाए । पौडेलको कथा संग्रह रत्न पुस्तक भण्डारबाट प्रकाशित भएको हो ।
भारतको असम, दुलियाजन स्थायी बसोबास भएका नेपालीभाषी साहित्यकार क्षेत्रीले कुवेतमा बसेर तीन बर्षयता ‘स्पन्दन’ साहित्यिक पत्रिका प्रकाशित गर्दै आएका छन् ।
सोमबार आयोजित समारोहमा मधुवन पौडेल, राजेन्द्र बिरही, अम्बिका जोशी, अर्जुन बस्नेत, मनोज काफ्ले मनसुन, आरबी बुढाथोकी, जिेतन थिङ, सुजन केसी, सृजना तिवारी, राजन रिमाललगायतले कविता बाचन गरेका थिए ।