खाना पकाउने एलपी ग्याँसमा भएको मूल्यवृद्धि सरकारले स्थगन मात्रै गर्ने निर्णय गरेको विरोधमा विपक्षी दलसम्बद्ध विद्यार्थीले राजधानीमा आज विहानैदेखि प्रदर्शन गरेका छन् ।
नेविसंघ, अनेरास्ववियुलगायतका विद्यार्थी संगठनहरुले बिहान ८ बजेदेखि १० बजेसम्म राजधानीका क्याम्पस अगाडि चक्काजाम गरेको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए । उनले राजधानी बाहिरका क्याम्पस अगाडि पनि चक्काजाम र प्रदर्शन गरिएको बताए ।
विद्यार्थीको एक घण्टे चक्काजामका कारण राजधानीको यातायात व्यवस्था प्रभावित भएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।
सरकारले मूल्यवृद्धि फिर्ता नलिई स्थगितमात्रै गरेपछि विद्यार्थी संगठनहरु झन् आक्रोशित भएका छन् ।
सरकारले ग्याँसको मूल्य प्रति सिलिण्डर ६ सय ३० रुपियाँ बढाए पनि चर्को विरोध भएपछि तत्काल कार्यान्वयन स्थगित गरेको थियो ।