मलेसियाको जोहोरस्थित पासिर गुडाङमा रहेको एक कम्पनी होस्टलमा रहेका नेपालीमाथि आक्रमण गरिएको छ । उक्त घट्नामा केही नेपालीको मृत्यु भएको बताइए पनि पुष्टी हुन सकेको छैन । उपचारका लागि लगिएको भनिएको अस्पताल पुगेको नेपाली दूतावासका प्रतिनिधिले दुई जना घाइतेलाई मात्र त्यहाँ भेटाएका छन् ।
सामान्य विवादमा गएराति स्थानीय युवाले हतियार सहित होस्टेलमा प्रवेश गरी आक्रमण गरेको थियो ।
अस्पतालमा भेटिएका घाइतेहरुमा नुवाकोटका राजु विश्वकर्मा र अर्का एक साह थरका तराई मूलका रहेका छन् । उनीहरुको पनि बिस्तृत विवरण पाउन सकेको छनै । त्रसित भएकाले त्यस क्षेत्रका नेपालीले फोनसमेत उठाएका छैनन् ।
घट्नाबारे थप बुझ्न त्यहाँस्थित परराष्ट्र मन्त्रालयमा कार्यवाहक राजदूत लेखनाथ भट्टराईलाई पठाईको छ भने काठमाडौंस्थित मलेसियन राजदूतलाई परराष्ट्र मन्त्रालय बोलाइएको परराष्ट्र मन्त्री माधव घिमिरेले बताए ।
तामान चिन्तानास्थित भेन्चर कम्पनीनजिकै रहेको अर्को एक कम्पनीको होस्टलमा झगडाले उग्र रुप लिए पछि अहिले त्यस क्षेत्र तनावग्रस्त छ । त्यहाँ कसैलाई पनि प्रवेश दिइएको छैन । ‘शुरुमा एक स्थानीय युवासंग सामान्य विवाद भएपछि नेपालीमाथि हतियारधारीले होस्टलमै प्रवेश गरी आक्रमण गरेका रहेछन्,’ नाम नबताउने शर्तमा नजिकैको अर्को एक कम्पनीमा कार्यरत नेपालीले टेलिफोनमा भने । घटनाका घाइतेहरुको त्यहाँको सुल्तान इस्माइल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
‘हामी बेलुका बसमा कोठामा आउँदै गर्दा हुलका हुल मान्छेहरु चिच्याउँदै भागदौड गरिरहेका थिए । हातमा तरबार र चक्कु लिएका मान्छेहरु होस्टल परिसरमै थिए ।’नजिकैको अर्को कम्पनीमा कार्यरत एक नेपाली युवाले भने ‘हामी आफ्नो कोठामा आएपछि विभिन्न हल्लाहरु चलिरहेका छन् । केही बुझ्न सकिएको छैन ।’
उनका अनुसार होस्टलको ब्लक २० मा सो घटना भएको थियो । आइतबार बेलुका करिब ७ बजे भएको सो घटनामा स्थानीयहरु पनि घाइते भएका छन् र घटनापछि केही बेरमै प्रहरी घटनास्थल पुगेको थियो । घटना नियन्त्रणमा लिन केही राउण्ड हवाइफायर समेत गर्नु परेको बताइएको छ ।