काठमाडौं । नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका दुई पाकिस्तानी नागरिकलाई प्रहरीले हिजो सार्वजनिक गरेको छ । महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीमा पत्रकार संम्मेलन गरी अबैध नक्कली भारतीय रुपैयाँको कारोवारमा संलग्न आमा र छोरा जुलेखा बानो डेनिस इस्सालाई प्रहरीले सार्वजनिक गरेको हो । नेपालमा एक हजार र पांच सय दरका भारतीय नोटको कारोबारलाई अबैध मानिए पनि बेला बेलामा यस्ता नोटहरुसहित पाकिस्तानी नागरिकहरु पक्राउ पर्ने गरेका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आगमन कक्षमा चेकजाँचको क्रममा प्रहरीले उनीहरुलाई एक हजार र पाचँसय दरका ४७ लाख २८ हजार ५ सय रुपैयाँ र चार सय अमेरिकी डलरसहित पक्राउ गरेको हो । पाकिस्तानबाट, पाकिस्तानी एयरलाइन्स पिआइएमा नेपाल आएका उनीहरुले उक्त रकम शरीरमै बाँधेर राखेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसैबीच ठगीको आरोपमा पक्राउ परेका दिपक मनाङ्गे काठमाडौं जिल्ला अदालतका आदेशपछि हिजो रिहा भएका छन् । अदालतले खोजेको समयमा उपस्थित हुने गरी मनाङ्खेलाई उनका कानून ब्यवसायीको जिम्मामा छाडिएको थियो । जग्गा कारोवारको सम्बन्धमा हिमालयन बैंकमा पठाएको २० लाख ५० हजारको चेक बाउन्स भएपछि मनाङ्गेलाई प्रहरीले पक्राउ गरेको थियो ।
RSS