प्रहरी ज्यादतीको विरोधमा हिलेपानी-दिक्तेल सडकखण्ड ठप्प

प्रहरी ज्यादतीको विरोध गर्दै सोमबार बिहानैदेखि यहाँको थाक्लेका स्थानीयले हिलेपानी-दिक्तेल सडकखण्ड ठप्प पारेका छन् ।
दुईदिनअघि सामान्य विवादको विषयलाई लिएर खोटाङको हलेसी महादेवस्थान प्रहरी चौकीका प्रहरीले थाक्लेका ११ जना युवाहरुलाई नियन्त्रणमा लिई निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट थाक्ले ६ का गन्जुराम राईको हात भाँचिएको छ भने जयरामका दिनेश राईको खुट्टा भाँचिएको छ ।
हलेसीस्थित श्रीराम कपडा पसलमा सामान्य भनाभन भएको विषयलाई लिएर प्रहरीले कुटपिट गरेका थिए । दोषीमाथी कारबाही र घाईतेको क्षतिपूर्ति नदिएसम्म सडक अवरुद्ध पार्ने विरोधमा उत्रिएका स्थानीय युवा धनसिं राईले बताए । प्रहरीले कुटपिट गरि गम्भीर घाईते बनाएपनि भागेर आफैँ लडेको फर्जी कागज बनाएको स्थानीयको आरोप छ ।
सडक अवरुद्ध हुँदा रामनवमीको अवसर पारेर हलेसी तीर्थयात्रामा आएका भक्तजनहरु अलपत्र परेका छन् । घाइतेद्वयको अर्थोपेडिक अस्पताल काठमाडौंमा उपचार भइरहेको र अन्यको अवस्था सामान्य छ ।  

अन्य समाचारहरु