कतारका लागि नेपाली राजदूत शर्मा फिर्ता गर्न पार्टीमा सिफारिस

– होम कार्की 



कतारस्थित एमाओवादी जिल्ला संगठनले कूटनीतिक अज्ञानता र कार्यक्षमताको विषयलाई लिएर चौतर्फी रूपमा आलोचना खेपिरहेकी कतारका लागि नेपाली राजदूत डा. मायाकुमारी शर्मालाई फिर्ता गर्न केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ ।



एमाओवादीको अन्तर्राष्ट्रिय ब्युरोअन्तर्गत रहेको कतार संगठनले राजदूतको क्रियाकलाप र व्यवहार श्रमिकमैत्री नभएको, कामदारको दलाली गरे ठगी गर्नेहरूसँग नजिकको सम्बन्ध राखेको र ठूला दलहरूसँग आस्था राखेर विचारविर्मश गर्नेहरू असुरक्षित भएको गम्भीर आरोप लगाई तत्काल फिर्ता गर्न उसले केन्द्रीय कार्यालयलाई सिफारिस गरेको हो ।



एमाओवादी विदेशब्युरो स्रोतका अनुसार कतार संगठनबाट राजदूत शर्माको विषयमा निर्णय गरेको माइन्युटको फोटोकपीसहित औपचारिक पत्र आएको जनाएको छ । शर्मा एमाओवादी सिफारिसमा कतारका लागि राजदूत बनेर एक वर्षअघिदेखि कार्यरत छिन् ।



झन्डै तीन महिनाअघि आफ्नो संगठनको अधिवेशन गर्न कतार आइपुग्दा  एमाओवादीको संगठन विभाग प्रमुख कृष्णबहादुर महरा र सल्लाहकार नरेन्द्रजंग पिटरसमक्ष संगठनका पदाधिकारीहरूले राजदूतको कार्यशैलीप्रति आपत्ति जनाएका थिए । फिर्ता बोलाउन पठाएको पत्रको विषयमा एमाओवादी कतारका इन्चार्ज शनिकुमार वली बोल्न चाहेनन् । ‘राजदूतसँग उठेका सम्बन्धित विषयमा पार्टीभित्र छलफल चलिरहेको छ,’ वलीले भने, ‘त्यो विषयमा केन्द्रीय कार्यालयले बताउनेछ ।’



यसैगरी राजदूत शर्माले ‘कतार खुल्ला जेल नै हो’ भनेर दिएको अन्तर्वार्ताप्रति यहाँका नेपाली समुदायका प्रतिनिधिहरूले विरोध जनाएका छन् । ‘यो राजदूतको दुई देशबीचको सम्बन्धमाथि आँच आउने अभिव्यक्ति हो,’ एक सामाजिक अगुवाले भने, ‘राजदूतले सार्वजनिक रूपमा आत्मालोचना गर्न जरुरी छ । यसले यहाँ कार्यरत नेपालीलाई ठूलो आँच पुगेको छ ।’ कतारमा नेपाली सामाजिक संस्थाहरूले यसबारे औपचारिक रूपमा सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउने तयारी थालेका छन् ।


 Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।