दोलखा । दोलखामा थामी भाषा र संस्कृतिमा पीएचडी गर्ने भन्दै एक जना व्यक्तिले लाखौ रुपैयाँ ठगेर फरार भएका छन् । जवाहरलाल नेहरु विश्वविद्यालयमा अध्ययन गर्ने बताउने तेह्रथुम पौठाक गाविस वडा नम्बर ३ लवरी घर भएका दिपक शर्मा भनिने दिपकराज दाहालले विभिन्न प्रलोभन देखाई ठगी गरेको खुलासा भएको छ ।
भारतीय राजदुतावासबाट विद्यालयहरुको भवन बनाईदिने तथा गाउँमा खानेपानीको योजना ल्याउने, फ्रान्स पुर्याइदिने, रोजगारी दिने भन्दै ठगी गरेको पीडितहरुले बताएका छन् । ठगीनेमा सबै जिल्लाका उच्च पदस्थ कर्मचारीहरु, विद्यालय प्रधानध्यापकदेखि जिविसका कर्मचारीसम्म रहेका छन् । दाहालले दिएको चेक पटक पटक वाउन्स भएपछि पिडितहरुले आफुहरु ठगीएको थाहा पाएका थिए ।
ठगीमा पर्ने दोलखा र रामेछापका करिब ४ दर्जन व्यक्तिहरु रहेका छन् । पिडित मध्ये चेक वाउन्स भएका १० जनाले ठगी गरेको आरोपमा महानगरीय प्रहरी परिसर हनुमानढोकामा उजुरी समेत दिएका छन् ।
दाहालले उनीहरुबाट करिब ७० लाख रुपैयाँ ठगेर ५ महिनादेखि फरार भएको पीडित नवीन्द्र थामीले बताए । दाहालले धादिङमा पनि २०६२ सालमा सोही शैलीमा विभिन्न व्यक्तिहरुबाट तीन लाख भन्दा बढी ठगी गरेको जिल्ला प्रहरी कार्यलय धादिङ्ले जनाएको छ ।
RSS