नेपाल प्रबर्धन कार्यक्रम भव्यताको साथ सम्पन्न

– विजय थापा         


वाशिंगटन डिसी ,मे ५ – नेपाल दूताबासले मे ४-५ तारिख नेपाल प्रबर्धन कार्यक्रम भब्यताको साथ सम्पन्न गरेको छ l कार्यक्रमको मुख्य उदेश्य नेपाललाई सयुक्त राज्य अमेरिकामा प्रबर्धन गर्नु हो l  अमेरिकन नागरिकलाई नेपालको संस्कृति र नेपालको प्राकृतिक सुन्दरतालाई जानकारी गराउनु ,नेपाल भ्रमण प्रति आकर्षित गर्दै नेपालमा अमेरिकन नागरिकलाई लगानी गराउनु रहेको दूताबासबाट प्रेषित छापा बिज्ञप्तिमा उल्लेख गरिएको छ l


उक्त दुई दिने कार्यक्रममा हजारौ दर्शकहरुले भाग लिएका छन् भने कार्यक्रममा भरपुर मनोरंजन गरेका छन् कार्यक्रममा पहिलो दिन दूताबासको आवास बिहान १० बजे देखि बेलुका ४ बजे सम्म खुला गरिएको थियो l  वाशिंगटन डिसी स्थित स्थानीय गैर मुनाफा संस्था ,सांस्कृतिक पर्यटन डिसी / पासपोर्ट डिसीको आयोजनामा यो कार्यक्रम गरिएको भनि दूताबासले जनाएको छ l जस्को माध्यमबाट डिसीमा व्यापक सूचना प्रचार तथा प्रसार कैयौ हप्ता अगाडी देखि गरिएकोले उक्त दिन दर्शकहरुको सुबिधाको लागि यातायातको चाजो मिलाईएको थियो l


यो पासपोर्ट डिसी नामक कार्यक्रममा लगभग ३० हजार दर्शकहरुले अधिकांश दूताबासको भ्रमण गरेको अनुमान गरिएको छ भने हजारौको संख्याले नेपाल दूताबासको दर्शन गरेका छन् l नेपाल दूताबासले नेपाली संगीतको आनन्द लिन सकुन भनि संगीतले कार्यक्रम स्थल गुन्जायमान गरिनुको साथै नेपालका खानाका परिकारहरुद्वारा अतिथिलाई भोजन गराईएको थियो l आगन्तुकहरुले बिभिन्न प्रकारका प्रबर्धन गर्न राखिएका सामग्री लिएर जानुको साथै चाखपुर्वक श्रब्य दृश्य तथा वृत चित्र हेर्न लालायित भएका थिए l  हस्तकलाका सामग्रीले अझ सुनमा सुगन्ध ल्याएको थियो l


दूताबासका कर्मचारीहरुले प्रचार तथा प्रसारक सामाग्री वितरण कार्यमा व्यस्त देखिन्थे भने नेपालबारे जान्न खोज्ने दर्शकहरु पनि उतिकै भिड लागेको थियो l कार्यक्रमको दोश्रो दिन मे ५ तारिख  अमेरिकन बिश्व विद्यालयको ग्रीनबर्ग चलचित्र मन्दिरमा नेपालको संस्कृति,परम्परा ,भेषभुषाको प्रबर्धन गर्ने उदेश्यले बिभिन्न प्रकारका संगीत ,गीत तथा नेपालका नृत्यहरु प्रस्तुत गरिएको थियो l


परम्परागत नृत्यहरुमा चार्या नृत्य ,बज्रयोगिनी नृत्य ,मारुनी नृत्य ,भोजपुरी नृत्य ,नेवारी नृत्य र गोपी नृत्यको प्रदर्शन गरिएको थियो l त्यसै गरि लोक नृत्य तथा बासुरीको धून आदि पनि प्रस्तुत गरिएको थियो l दर्शकहरु मन्त्र मुग्ध हुनुको साथै भरपुर मनोरंजन गरेका थिए l उक्त सांस्कृतिक तथा सांगीतिक कार्यक्रममा राज्य विभागका अधिकृत लगायत करिब ३०० जनाले हेरेका थिए l यो कार्यक्रमलाई अपार सफलता बनाउन स्थानीय सामुदायिक संस्था तथा स्थानीय कलाकारहरुले मदत पुर्याएका थिए l


कार्यक्रमको प्रारम्भमा अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा शंकर प्रसाद शर्माले हार्दिक स्वागत गर्दै नेपालको सांस्कृतिक बिबिधता र नेपाल पर्यटनको आकषर्णबारे प्रकाश पार्नु भएको थियो भने दूताबासका उप नियोग प्रमुख अर्जुन कान्त मैनालीले कार्यक्रमको अन्त्यमा धन्यबाद ज्ञापन गर्नु भएको थियो l