धादिङ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले धादिङस्थित पृथ्वी राजमार्गका होटल तथा रेष्टुरेण्टको गुणस्तर मापन गर्दै वर्गीकरण थालेको छ । राजमार्ग क्षेत्रका होटल तथा रेष्टुरेण्टहरुले पालना गर्नुपर्ने न्युनतम मापदण्ड र गुणस्तरमा खासै सुधार नभएपछि विभागले होटल तथा रेष्टुरेण्टले पालना गर्नुपर्ने न्युनतम मापदण्ड तयार पारी गत वर्ष कात्तिकदेखि खाद्य स्वच्छता मूल्यांकन गरी प्रत्येक होटलमा वर्गीकरण तोकिएको स्टिकर टाँस्न थालेको हो ।
गुणस्तर मापन गर्न चार प्रकारका स्टिकर छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार हरियो स्टिकर टाँसिएका होटल तथा रेष्टुरेण्टमा कुनै प्रकारको समस्या रहने छैन । हरियो स्टिकरका लागि विभागले तयार पारेको फाराममा ८० नम्बर कटेको हुनुपर्ने छ । पहेंलोमा एउटा रातो चिह्न भएको स्टिकर टाँसिएको होटलले आफ्नो गल्तिलाई सच्याउन सक्नेछ तर उसको खाद्य स्वच्छतामा कमजोर मानिन्छ ।
पहेंलोमा दुई वटा रातो चिह्न भएको स्टिकर टांसिएको होटलले धेरै सुधार गर्नपर्ने हुन्छ । पूरा रातो स्टिकर टाँसिएको होटल सञ्चालन गर्नै पाइन्न । विभागले मलेखु बजारमा २८ वटा होटल अनुगमन गरेकोमा दुईवटा होटल दर्ता नभई सञ्चालनमा रहेको र एउटा होटलले सामान्य मापदण्ड पनि पूरा गर्न नसकेको जनाइएको छ ।
RSS