देशभर एकैसाथ कक्षा ११ को परीक्षा सुरु

भक्तपुर – उच्च माध्यमिक शिक्षा परिषद्ले देशभर एकैसाथ मंगलबारबाट  कक्षा ११ को परीक्षा सुरु गरेको छ । परीक्षा बिहान ७ देखि १० बजेसम्म सञ्चालन हुनेछ ।


परीक्षामा चार लाख ३५ हजार १८ जना सहभागी भएका छन् । परीक्षामा नियमिततर्फ दुई लाख ६५ हजार ४५७ र एक्जाम्टेडतर्फ एक लाख ६९ हजार ४५७ जना सहभागी भएको परिषद्का परीक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी दिए ।


जसमा छात्रतर्फ दुई लाख १७ हजार १७५ जना र छात्रातर्फ एक लाख १७ हजार ८४३ जना रहेका छन् । जेठ १० गतेसम्म सञ्चालन हुने परीक्षाका लागि परिषद्ले देशभर ९३२ परीक्षा केन्द्र र ३० हजार ६०० जनशक्ति परिचालन गरिएको उनले जानकारी दिए ।


अर्यालले परीक्षामा अमर्यादित कार्य गर्ने केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, सुरक्षा गार्ड, जोकोहीलाई छ महिना कैद वा एक लाख  जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको जानकारी दिए ।


परीक्षाले परीक्षा नै अवरुद्ध गर्ने जस्ता गतिविधि गरेमा दुई वर्षसम्म परीक्षा दिन नपाउने गरी निलम्बन गरिने व्यवस्था गरिएको छ । नक्कली परीक्षार्थी भेटिएमा सार्वजनिक ऐनअन्तर्गत मुद्दा लगाइने छ भने परीक्षा अवधिभर परीक्षा केन्द्रमा परीक्षार्थी र निरीक्षकलाई मोबाइल फोन लैजानसमेत प्रतिबन्ध गरिएको छ ।


परीक्षालाई शान्ति पूर्णरुपमा सम्पन्न गर्न परिषद्ले सुरक्षा निकायसँग विशेष बैठक गरी सुरक्षा व्यवस्थालाई कडा पारिएको अर्यालले जानकारी दिए । रासस


अन्य समाचारहरु