– बिनोद घिमिरे
लिस्वन, नेपाली जन सम्पर्क समिति पोर्चुगलले नेपालको दुर्गम जिल्ला कालिकोटका दुई बिद्यालयलाई एक लाख रुपैया आर्थिक सहयोग प्रदान गरेको छ। कक्षा कोठामा टेबल र बेञ्चको असुबिधा रहेको कालिका गाबिस-७ स्वादा को महादेव निम्न माध्यमिक बिद्यालय लाई बेञ्च र टेबल बनाउन पचास हजार रुपैया र कालिका गाबिस-३ शेरा को जन जागृति प्राथमिक बिद्यालयको भवन निर्माणमा सहयोग पुर्याउन पचास हजार रुपैया प्रदान गरिएको हो ।
नेपाली कांग्रेस ईलाका नम्बर ६ कालिकोटले जेष्ठ ४ गते आयोजना गरेको क्षेत्रीय भेला मा जन सम्पर्क समिति पोर्चुगलका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले महादेव निमाबि संचालक समितिका अध्यक्ष अभयराज सुबेदी र प्रधानाध्यापक टेक बहादुर शाही तथा जन जागृति प्राबि संचालक समितिका अध्यक्ष पूर्ण बहादुर शाही र प्रधानाध्यापक नन्दराम भट्टराई लाई संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गर्नु भयो।
आर्थिक सहयोग रकम हस्तान्तरण भेलाको सभापतित्व इलाका नम्बर ६ का सभापति अभयराज शाही ले गर्नु भएको थियो भने कांग्रेस जिल्ला सभापति काली बहादुर सहकारी प्रमुख अतिथि र कांग्रेस युवा नेता किरण पौडेल बिशेष अतिथि को रुपमा सहभागी हुनु भएको थियो। उक्त अवसरमा कांग्रेस जिल्ला सदस्य, महासमिति सदस्य, गाउ ईकाई समितिका सभापति र कांग्रेस कार्यकर्ताहरु को उपस्थिति रहेको थियो।
सहयोग रकम हस्तान्तरण पछि मन्तब्य राख्दै दुवै बिद्यालय संचालक समितिका अध्यक्ष तथा प्रधानाध्यापक हरुले जन सम्पर्क समिति पोर्चुगल र सम्बद्ध सबैमा हार्दिक धन्यवाद ब्यक्त गर्नुभएको छ।
अध्यक्ष सापकोटाले विकट जिल्लाको दुई बिद्यालय लाई स्वयम् उपस्थित भएर सहयोग रकम हस्तान्तरण गरि त्यहाका समस्या अवलोकन गर्न पाएकोमा प्रसन्नता ब्यक्त गर्दै आगामी दिनमा पनि समितिले सहयोग जारी राख्ने बताउनु भएको छ ।
जन सम्पर्क समिति पोर्चुगल ले कालिकोट जिल्लाको दुर्गम स्थानमा रहेको बिद्यालयलाई सहयोग गर्न २०१२/२७ मे का दिन लिस्वनमा एक च्यारिटी रात्रीभोजको आयोजना गरेको थियो।