काठमाडौं । राजधानी काठमाडौंमा मेडिकलको आवरणमा लागूऔषधको कारोबार हुने गरेको खुलासा भएको छ । काठमाडौको कोटेश्वरमा मेडिसिन सेन्टर सञ्चालन गर्दै आएका सर्लाहीका रामविलाश महतोसहित आठ जनालाई प्रहरीले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो बानेश्वरले महतोसहित आठै जनालाई आज सार्वजनिक गरेको हो ।
पक्राउ परेका अन्य मेडिकल सञ्चालकहरु समेत लागूऔषधको कारोवारमा संलग्न रहेको हुनसक्ने भन्दै प्रहरीले छानविन अघि बढाउने बताएको छ ।
सार्वजनिक गरिएकाहरुमा भारतीय नागरिकहरु सत्यम् जयसवाल र राम जैसवाल तथा नेपालीहरु ओमिलन गिरी, विकास कार्की, शरण विष्ट, आले तामाङ र विकल शाही रहेका छन् ।
उनीहरु मध्ये केहीले कुरियर मार्पmत लागूऔषध नेपालबाट तेस्रो मुलुक पठाउने गरेको समेत प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले २० किलो चरेस, १ हजार ७ सय ६८ थान बुप्रेनर्फिन, १ हजार ७ सय ६८ थान डाईजेपाम र ३२ चक्की नाईट्रोसन बरामद गरेको छ ।
रासस



