– युबराज कंडेल
वर्तमान समयमा नेपालमा उपलब्ध शिक्षाले देशमा अनुत्पादक र बेरोजगार जनशक्तिको भिड बढाएको अब देशका सबै बिद्यार्थिहरुलाई प्राविधिक र व्यवसायिक शिक्षा दिनुपर्ने कुरा आज बुटवलमा आयोजित एक कार्यक्रमका बक्ताहरुले औल्याएका छन्। उच्च माध्यमिक शिक्षा परिषद बुटवल कार्यालय द्वारा शनिवार आयोजित “प्राविधिक र व्यवसायिक शिक्षा: आजको आवस्यकता ” बिषयक वक्तृत्वकला प्रतियोगितामा वक्ताहरुले उक्त कुरामा जोड दिएका छन्।
परिषद्को वार्षिक कार्यक्रम अन्तर्गत आयोजित बक्तृत्वकला प्रतियोगितामा लुम्बिनी अंचलका छ जिल्ला लगायत राप्ती अंचलका रोल्पा र प्युठानका गरि ८ जिल्लाका ४५ जना छात्रछात्राहरुले प्रतियोगितामा भाग लिएका थिए। प्रतियोगितामा सहभागी बिद्यार्थिहरुले नेपालमा प्राविधिक शिक्षाको विकास हुन नसकेको र उपलब्ध प्राविधिक शिक्षामा नेपाली बिध्यार्थीहरुको पहुँच नभएको गुनासो गर्दै नेपालमा आर्थिक सामाजिक र भौतिक विकास गर्नको लागी शिक्षाका सबै तहहरुमा प्राविधिक तथा व्यवसायिक शिक्षा दिनुपर्ने कुरामा जोड दिए।
कार्यक्रमका मुख्य अतिथि उच्च माध्यमिक शिक्षा परिषदका सदस्य सचिव भिमलाल गुरुंगले उच्च माध्यमिक तह उत्तीर्ण गर्ने बिध्यार्थीहरु बेरोजगार भएर डुल्न र सर्टिफिकेट बाकसमा थन्काएर खाडी मुलुकमा पसिना बगाउन जानु नपरोस भन्ने कुरामा परिषद सचेत रहेकोले बिद्यार्थिहरुलाई प्राविधिक र व्यवसायिक शिक्षा प्रदान गर्नको लागी पाठ्यक्रममा समयानुकुल परिमार्जन र व्यवसायिक बिषयहरुको पाठ्यक्रम निर्माण गरिरहेको बताउदै आफुले कस्तो शिक्षा लिने हो भन्ने कुरामा बिद्यार्थी र अभिभावक सचेत हुनुपर्ने र राज्यले प्राविधिक र जीवनोपयोगी शिक्षामा लगानी बढाउनुपर्ने कुरामा जोडदिनुभयो। कार्यक्रममा प्रा.डा. कपिल लामिछाने, हिसान रुपन्देहीका अध्यक्ष तुक बहादुर क्षेत्री लगायतले बोल्नु भएको थियो।
बक्तृत्वकला प्रतियोगितामा जनता नमुना उमाविका प्रमोद नेपाल,शंकरनगर उमाविका लक्ष्मण बि.क.र हरिहर संस्कृत तथा साधारण ऊ.म.वि.कि अस्मिता पराजुली क्रमशः प्रथम ,द्वितीय र तृतीय भएका थिए।
प्रथम,द्वितीय र तृतीय हुने बिद्यार्थिहरुलाई क्रमशः १२ हजार, ९ हजार र ७ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।
उमाशिपका बोर्ड सदस्य घनस्याम पाठकको अध्यक्षतामा कालिका उमाविको सभाहलमा सम्पन्न कार्यक्रमको संचालन परिषद्को बुटवल कार्यालयका प्रमुख सुवास पन्तले गर्नुभएको थियो ।