गैर आवासीय नेपाली संघ (एनआरएन) उपाध्यक्ष क्या. हितमान गुरुङले अध्यक्ष पदका लागि उम्मेद्वारी दिने औपचारिक घोषणा गरेका छन् । बेलायतको फार्नवोरोस्थित गोर्खा प्यालेस् रेष्टुरेन्टमा एनआरएनए यूके पदाधिकारीहरुको रोहवरमा एक पत्रकार सम्मेलन गरि गुरुङले उम्मेद्वारी घोषणा गरेका हुन् ।
आगामी अक्टोबर १९ देखि २२ तारिखसम्म काठमाडौंमा एनआरएनको छैटौं महाधिवेशन हुँदैछ ।
अष्ट्रेलियाका धनाढ्य नेपाली व्यापारी शेष घलेले एनआरएनए आइसीसी अध्यक्षमा उठ्ने घोषणा गरेको करिब साता दिनपछि उपाध्यक्ष गुरुङले एनआरएन अभियानमा आफ्नो दशक लामो योगदान, आत्मविश्वास, अनुभव र साथीभाईको सुझावपछि अध्यक्ष लड्ने निष्कर्षमा पुगेको जनाए ।
गुरुङ दुई कार्यकाल आइसीसी सदस्य, युरोप संयोजकपछि अहिले उपाध्यक्ष छन् ।
उनले पत्रकार सम्मेलनमा देशलाई समृद्ध बनाउन ल्याइएको सामूहिक लगानी अवधारणालाई मुर्तरुप दिने, संस्थाको दिगो र संस्थागत विकास, अधुरै रहेको दोहोरो नागरिकता सवाललाई निरन्तरता दिएर टुंगोमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।
एनआरएनको एक दशक समय परिचय र विकासमा व्यतित भइसकेकाले अबको समय संस्थाको संस्थागत विकाससहित गुणात्मक उपलब्धि हासिल गर्नु आफ्नो एजेन्डा हुने समेत उनले बताए । गुरुङले एनआरएन सञ्जाल हालसम्म ६४ देशमा फैलिसकेकाले ति एनसीसी र केन्द्रबीच मजवुत सम्वन्ध स्थापित गरि उक्त सञ्जालको सीप र लगानी मातृभूमि नेपालको दिगो विकासमा खर्चन पहल गर्ने पनि अठोट गरेका छन् ।
पत्रकार सम्मेलनमा एनआरएनए यूके अध्यक्ष कुल आचार्य, उपाध्यक्षहरु थर्क सेन र महेन्द्र कँडेल, आइसीसी सदस्यहरु विश्वआदर्श पण्डित र शंकर भण्डारी, तमुधिं यूके उपाध्यक्ष ज्ञाम गुरुङ, सल्लाहकारहरु कर्ण शाही, शिवजी श्रेष्ठ, डा. सिवी गुरुङ, सदस्य शान्ति थापा कुँवर लगायतले गुरुङको उम्मेद्वारी घोषणाप्रति समर्थन गर्दै उनको इमान्दारिता, संस्थामा निरन्तर संलग्नता र विवादरहित छविका कारण अध्यक्ष पदको दावी उपयुक्त रहेको जिकिर गरेका थिए ।
घले र गुरुङपछि अध्यक्षमा एनआरएनए संरक्षक रामप्रताप थापाको समेत उम्मेद्वारी आउने अड्कल छ । लामो समयदेखि जर्मनीमा रहेका थापा पनि संस्थाको स्थापनाकाल देखि नै खटिंदै आएका एनआरएन हुन् ।