एसएलसीमा फेल भएर कालीगण्डकीमा हाम फालेर आत्महत्या गर्ने प्रयास गरेका २ छात्रालाई ट्याक्टर चालकले बचाए


 

पाल्पा  – एसएलसी परीक्षामा फेल भएर आत्महत्या प्रयास गरेका दुई विद्यार्थीलाई ट्याक्टर चालकले बचाएका छन् । गाडाँकोट, १ चिहानडाँडा घर भएर रामपुर बस्दै आएकी संञ्चिता बंशी र रामपुर, ३ मटेरीकी बविता थापालेसंगै आत्महत्याको प्रयास गरेका हुन् ।


उनीहरु दुवै २०६९ सालको एसएलसी परीक्षामा सहभागी थिए । उनीहरु दुवै फेल भएका विद्यार्थी हुन् । ईलाका प्रहरी कार्यालयका अनुसार उनीहरुले रामपुर, १ को परेवाघाटमा कालीगण्डकी नदीमा हाम फालेर आत्महत्या गर्ने प्रयास गरेका बेला ट्याक्टरमा गिटी लोड गर्ने मजदुरले बचाएका हुन् । ढुंगामा चढेर दुवैले हाम्फालेलगत्तै ट्याक्टर चालकले उनीहरुलाई देखेपछि उद्दार गरेका थिए ।


बेहोस भएका दुबै बिद्यार्थीको रामपुर अस्पतालमा प्राथमिक उपचार पछि रिभर भ्याली अस्पतालमा उपचार भइरहेको छ । दुबैको होस खुलेको र क्रमशः स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ । नदीमा हाम फाले लगत्तै उनीहरुलाई उद्धार गरि अस्पताल पुर्‍याइएको थियो । विद्यालयका शिक्षक लेखनाथ मरासिनीका अनुसार संञ्चितालाई चार र बबितालाई पाँच विषय लागेको थियो । ट्याक्टर चालकले उद्धार गरेर मोटरसाइकलमा उपचारको लागि पठाएपनि उनी को थिए भन्ने पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु