दाङकी १५ वर्षीया किशोरी ४ युवाहरुद्धारा जंगलमा बलात्कृत

देवेन्द्र बस्नेत 

 

दाङ – दाङकी १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन्। अचेत अवस्थामा रहेकी उनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ। बेलाबेलामा होसमा आउने उनले आफूलाई फूलवारी गाविसको ढकना भन्ने स्थानको जंगलमा ४ युवाहरुले बलात्कार गरेको बताएकी छन्।

 

गोल्टाकुरीकी ती वालीकालाई मुख छोपेका युवाहरुले बलात्कार गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी तुलबहादुर कार्कीका अनुसार शुक्रवार दिउँसो घटना भएको हो। एसएलसी मौका परीक्षाका लागि तुलसीपुरमा बसेर तयारी गरिरहेकी उनी शुक्रवार खर्च लिन घर जानेक्रममा जंगलमा बलात्कृत भएकी हुन्  अस्पतालमा उपचाररत उनी बेला बेलामा मात्रै होसमा आउँछिन्। उनको शरीरभरी चिथोरेका घाउहरु छन्।

 

बलात्कारको घटनापछि उनले रुँदै आफ्ना भाइलाई फोन गरेकी थिइन्। त्यसपछि गाउँलेहरु आएर उनलाई राती अस्पताल पुर्‍याएका थिए। उनका सबै लुगाहरु च्यातिएका थिए। पछि गाउँलेहरुले नै आफूले लगाएको लुगा फुकालेर उनको शरीर ढाकिदिएका थिए। प्रहरीले डाक्टरको रिपोर्ट नआएको भन्दै अनुसन्धान गरिरहेको जनाएको छ। ‘घटनामा संलग्नहरुको खोजी भइरहेको छ,’ डिएसपी कार्कीले भने।

अन्य समाचारहरु