काठमाडौं । काठमाडौंको पेप्सीकोलामा आज बिहान १० बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जनाको अवस्था गम्भीर छ । मध्यपुर यातायातको बा२ख ६९८५ नम्बरको बसले वरुण वेभरेज पेप्सीकोला कारखानामा कार्यरत भारतीय नागरिक दिपक दे बब्लु र ज्ञानबहादुर लामा चढेको मोटरसाइकललाई ठक्कर दिंदा बब्लुको उपचारका क्रममा केएमसी अस्पतालमा मृत्यु भएको हो ।
असाम निवासी बब्लु कारखानाको गेटबाट बा१८प ३९८२ नम्बरको मोटरसाइकलमा बाहिरिंदै गर्दा मध्यपुर यातायातको बसले गलत साइटबाट ठक्कर दिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
मोटरसाइकल पछाडि बस्ने लामाको गम्भीर अवस्थामा केएमसी अस्पतालमै उपचार भइरहेको छ । दुर्घटनापछि प्रहरीले चालक मनोज तामाङलाई बससहित नियन्त्रणमा लिएको छ ।
दुर्घटनापछि स्थानीयवासी र पेप्सीकोला कारखानाका मजदुरले मृतकलाई राहतको माग गर्दै सडक ठप्प पारेपछि प्रहरीले लाठीचार्जसमेत गर्नुपरेको थियो ।
सो क्रममा केही घाइते भएका छन् । आक्रोशित भीडले गाडीमा आगजनीसमेत गरेको छ ।
राहतका लागि टोली गठन भए पनि कुनै चासो नदिइएको भन्दै पुनः स्थानीयवासी आक्रामक बन्दा अपरान्ह अर्को एक गाडीमाथि तोडफोड भएको छ ।



