– खगेन्द्र कार्की
कतार । मातृभूमिका लागि यूवा अभियान कतारले महाकाली नदिबाट प्रभावित परिवारको सहयोगका लागि संकलन गरेको रकम एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ ।
दोहाको मुन्ताजापार्कमा आयोजित कार्यक्रममा संस्थाको तर्फबाट बाढीपिडीत सहयोग संकलन संयोजक तथा संस्थाका कोषाध्यक्ष विक्रम कार्की, संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष केवी हमालले कार्यक्रमका प्रमुख अतिथि तथा केन्द्रिय महासचिव हव खड्कालाई ६० हजार नगद नेपाली रुपैया हस्तान्तरण गरेका हुन् ।
संस्थाका महासचिव कमल खरेलले सञ्चालन गरेको सो कार्यक्रममा संस्थाका पदाधिकारी, सल्लाहकार, पत्रकार, सामाजिक अगुवा बुद्धिजीवि दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो । संस्थाको अवधारणा, वर्तमान स्थिति र भावि योजनाको विषयमा संस्थाका प्रथम उपाध्यक्ष भुवन केसीले स्वागत मन्तव्य राखेका थिए । यसैगरी कार्यक्रमलाई संस्थाको दितिय उपाध्यक्ष सविनाकुमारी दाहाल, सल्लाहकार दिपक खड्का, अर्थ तथा रोजगार प्रतिनिधि तथा पत्रकार चिरञ्जीवि तिम्सिनालगायतले कार्यक्रमका विषयमा बोलेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा केन्द्रिय महासचिव हव खड्काले संस्थाको पृष्ठभूमि, उद्देश्य र औचित्यका विषयमा प्रकाश पार्नु भएको थियो । उपस्थित पदाधिकारीहरु तथा सहभागीहरु बिच संस्थाको वर्तमान स्थिति र भावि कार्यदिशाको बारेमा पनि व्यापक सामूहिक छलफलसमेत भएको थियो । उनले संस्थाले वैधानिकता पाइसकेको र नेपालका विभिन्न जिल्लाहरुका सञ्जाल बिस्तारका लागि समिति बनाएर ओखलढुंगामा समिति गठनको प्रक्रियामा गईसकेको जानकारी समेत दिए ।
खड्काले संस्थाको छविलाई स्वच्छ र सफा राख्नका लागि संस्था सदैव क्रियाशिल रहने र कुनै समूह, गुट वा व्यक्तिको पछाडि संस्था नलागी संस्थाको उद्देश्यमा मात्र केन्द्रीत रहने बताएका थिए । उक्त भेलामा सहभागीहरुले मातृभूमि भन्ने शब्दसंगै प्रभावित भएर आफु आवद्द हुन चाहेको र नाम जस्तै संस्थाको उद्देश्य पनि महान रहेको भन्दै यो संस्थामा आवद्द भएर आफ्नो मातृभूमिको लागि आफुले गर्न सक्ने भूमिका, जिम्मेवारी र दायित्व पूरा गर्ने विचार व्यक्त राखेका थिए ।
केहि दिन अघि इजरायलमा भव्यरुपमा सम्पन्न भएको मातृभूमिका लागि युवा अभियान इजरायलको साधारणसभा र त्यसबाट चयन भएका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवादका साथै हार्दिक शुभकामना समेत व्यक्त गरिएको थियो ।
अध्यक्ष केवि हमालले सहभागी सबैबाट आएका कुराहरुलाई सम्बोधन गर्दै मातृभूमिमा आइपर्ने समस्यामा सहकार्य रहने र अब कुरा भन्दा पनि व्यवहारमा लागू गर्नुपर्ने समय आएको छ भन्दै यो सानो सहयोगले समस्यामा परेका हाम्रा नेपाली दाजुभाई दिदीबहिनीहरुको दुःखमा ठुलो सहयोग बन्नेछ भन्दै यो रकम संकलनमा सहयोग पुराउने सबैमा धन्यबाद प्रकटका साथ भेलाको समापन गर्नुभयो ।