यूएईमा नेपालीलाई मृत्युदण्डको सजाय, दुतावासलाई पत्तो छैन

 उमाकान्त पाण्डे गाउंले   
अबुधाबी  – सम्युत्त अरब ईमीरेट्स यूएईको अबुधाबी अदालतले पाकिस्तानी नागरिकको हत्याको आरोपमा एक नेपाली नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
संखुवासभा मंडेपोवरी ३ का अनिश खालिंग राईलाई यहाँको अदालतले मृत्‍यु दण्डको सजाय सुनाएको हो । 
यूएईको एक रेष्टुरेन्टमा केही महिनापहिले भएको भनाभनमा नेपाली र पाकिस्तानी नागरिककाबीच झगडा भएको थियो । झगडाले उग्र रुपलिदा झडप परेको थियो । झडपमा घाइते भएका पाकिस्तानीको मृत्यु भएपछि अनिश खालिंग राईलाई अभियुक्त ठहर गर्दै गत २०६९ कार्तिक ९ गते हिरासतमा लिई अबुधाबीको अलऐन जेलमा राखिएको थियो । 
राइको आक्रमण बाट घाइते पाकिस्तानी नागरिकको मृत्‍यु पछि रोजगारीकालागि ३ बर्ष अघि यूएई आएका उनलाई गत शनीबार यूएई अदालतले यस्तो सजाय दिने निर्णय सुनाएको हो । यधपि उनलाई कहिले फासी दिईन्छ भन्ने बारे केही भनिएको छैन । यूएईमा यो घटना सगै ३ जना नेपालीले मृत्‍युदन्डको सजाय पाएका छन । 
सन २००३ मा भारतीय नागरिकको हत्यामा सम्लग्न भनिएका दार्चुलाका अमर बहादुर बम र अर्का एक नेपाली दुर्गाबहादुर सुनारलाई (फरक फरक घटनामा सम्लन)यूएई सरकारले मृत्‍युदन्डको सजाय समेत सुनाएको थियो । उनीहरुको बिषयमा समेत अझै यूएई सरकार मौन छ ।  
दुतावासमा खबर छैन -उप नियोग प्रमुख, बचाउनकालागि सर्वोच्चमा अपिल गर्न सकिने प्रावधान्न – बुद्दीजिवी 
यस् बारे दुतावासमा आधिकारिक जानकारी नआएको  यूएईका लागि नेपाली राजदुतावास अबुधाबीका नियोग उपप्रमुख दीपक अधिकारीले बताए । 
सम्बन्धित निकायबाट आधिकारिक जनाकारी अझै आएको छैन , संचारकर्मीहरुले थाहा पाएर सोधीखोजी गर्नु भएको छ अधीकारीले भने । ‘यस अवस्थामा राईलाई दोषी ठहर गरी प्रारम्भिकतहको अदालतले मृत्यु दण्डको सजाय सुनाएको भन्ने बुझिन्छ’ उनले भने। 
 
नेपाली समाज युएईका भुतपुर्वक अध्यक्ष तथा समाजसेवी कृष्ण ढकालका अनुसार यसै प्रकृतिका अन्य घटनालाई हेर्ने हो भने, अभियुक्तका लागि अझै दुई तहमा निर्णय लिनु पर्ने हुन्छ । यस निर्णयमाथी पुनरावेदन अदालतमा पुनरावेदन गर्न सकिने प्रावधान रहेको छ । पुरनावेदन अदालतले पनि प्रारम्भिक तहको अदालतको निर्णयलाई नै सदर गर्यो भने सर्वोच्च अदालतसम्म अपिल गर्न सकिन्छ । सर्वोच्चले पनि पुनरावेदन अदालते गरेको प्रारम्भिकतहको फैसलालाई नै सदर गर्दछ भने उसले अन्तिम फैसला सुनाउनु पूर्व मृतकका परिवारलाई तीन मध्ये एक निर्णय लिन सरकारी माध्ययमबाट सोध्ने प्रावधान रहेको छ । यसमा मृतकका परिवारले अभियुक्तलाई फासी नै दिने, ब्लडमनी लिएर माफी दिने वा केही पनि नगरी माफी दिनेमध्ये एक रोज्नु पर्ने हुन्छ । यस अवस्थामा मृतकका परिवारको निर्णय नै अन्तिम निर्णय हुने छ ।
 
मृत्युदण्ड जस्तो मुद्दाको फैसला गर्नुभन्दा पहिले यूएईका अदालते मृतकका परिवारलाई अभियुक्तलाई सजाय नै दिने वा माफी गर्नेबारेमा अन्तिम निर्णय लिन आग्रह गर्दै आएको छ । अभियुक्तको सजायँमा कुनै किसिमको कमि नआएर, मृतकको परिवारसमक्ष अन्तिम निर्णय लिनसोधिएको अवस्थामा मृतकको परिवारले ब्लडमनी लिन चाहेमा साविक अवस्थामा यूएई धिराम्श दुईलाखसम्म तिर्नु पर्ने अवस्था आउँछ । यो भएमा अभियुक्तलाई बचाउन सकिने प्रावधान यूएईमा विद्यमान रहेको छ ।
 
प्रदिवादीकातर्फबाट वकालतगर्ने वकिलले मुद्दा लड्ने प्रावधान रहेको र उसले पुनरावेदन हुँदै सर्वोच्च अदालतसम्म अपिल गर्न सक्ने प्रावधान पनि छ । 
अभियुक्त राईका परिवारले उनकालागि छुट्टै वकिल राखेर पनि पुनरावेदनमा अदालतमा अपिल गर्न सकिने प्रावधान छ ।
 
अभियुक्त राईका श्रीमति बिना राई डेढ वर्षको छोरो लिएर आइतवार बिहानै त्रिपुरेश्वरस्थित परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा पुगेर श्रीमानको जीवन रक्षा गर्नका लागि अनुरोध गरेकी थिइन । श्रीमान अपराधिक प्रबृत्तिको नभएको बताउँदै बीनाले समूहबीच झगडा भएको जनकारी पाएकाले श्रीमानलाई कसैले फसाउन सकेको आशंका गर्दै घटनाको छानबीन होस भन्दै कन्सुलर विभाग प्रमुख यादब खनाल समक्ष अनुरोध गरेकी थिइन ।
 
कन्सुलर विभाग प्रमुख यादवले अबुधाबीस्थित नेपाली दूतावासमार्फत अभियुक्त राईको जीवन रक्षाको पहल गर्ने आश्वासन दिइको बिनाले पाएकी छिन् ।