कञ्चनपुर । कञ्चनपुरको दक्षिणी भेगबाट सदरमुकाम महेन्द्रनगर जोड्ने एक मात्र कालागौडी पुल बाढीले भत्काएपछि सर्वसाधारण सास्ती बेहोर्न बाध्य छन् ।
गत साउन २ गते स्याली नदीमा आएको बाढीले पुलको आधा भाग कटान गरेको थियो । नदी कटानबाट क्षतिग्रस्त पुल दुई हप्ता बितिसक्दा पनि पुनर्निर्माण हुन नसकेको हो ।
महेन्द्रनगरबाट बेलौरी, पुनर्वास चल्ने यातायातका साधनले यात्रुलाई पुलसम्म पु-याएर छाड्ने गरेको छ । दक्षिणी क्षेत्रका अधिकांश सर्वसाधारण सरकारी कामकाजका लागि सदरमुकाम महेन्द्रनगर जान पुल नहुँदा समस्या थपिएको छ ।
स्थानीयले गाउँ जोगाउन पहिले बस्ति किनारमा तटबन्ध बनाउनुपर्ने माग गर्दै पुल निर्माणमा रोक लगाएपछि दक्षिणी भेगका बासिन्दा मारमा परेका हुन् ।
डिभिजन सडक कार्यालय कञ्चनपुरले पनि स्थानीयबासीकै अवरोधले पुल मर्मत गर्न नसकेको जबाफ दिएको छ ।
RSS