धादिङ । धादिङ र गोर्खा जिल्लाको सीमानामा मुलुककै सबैभन्दा ठूलो जलाशययुक्त ६ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना बनाउन परीक्षणको लागि सुरुङ खन्ने कार्य तीब्र रुपमा अगाडि बढाईएको छ । परीक्षण सुरुङ खन्ने जिम्मा पाएको फ्रान्सको जेट कन्सल्टेन्टले आयोजनाको परीक्षण सुरुङ ५० प्रतिशत खनिसकेको छ ।
परीक्षणका लागि विभिन्न स्थानमा ७ वटा सुरुङ निर्माण गरिने छ । धादिङमा एक र गोर्खामा २ वटा सुरुड खन्ने काम भइरहेको छ भने चितवनको फिस्लीङ्मा पनि एउटा सुरुङ खनिने छ ।
गत जेष्ठदेखि सुरु भएको सुरुड खन्ने काम आगामी भाद्र १५ सम्ममा पूरा गर्ने लक्ष्य लिइएको छ । आयोजनाको नक्साका लागि हवाई सर्वेको काम पूरा भइसकेको छ भने पानी मुनीको सर्वे पनि आधा सकिएको जनाइएको छ ।
बुढीगण्डकी जलविद्युत आयोजना बनेपछि देशमा लोडसेडिङको समस्या धेरैहदसम्म समाधान हुने आशा गरिएको छ ।
RSS