शेयर बजार परिसूचक नेप्सेमा बृद्धि

काठमाडौं । यस साता पनि शेयर बजार परिसूचक नेप्सेमा बृद्धि आयो । गत साता दोहोरो अंकले बढेको नेप्से यस साता पनि दोहोरो अंकले नै बढ्यो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १२ दशमलब पाँच नौ अंकले वृद्धि भई अन्तिम दिन ५ सय ४६ दशमलब आठ नौ अंकमा पुग्यो ।


गत विहीबारको तुलनामा भने नेप्से झिनो अंकले मात्रै सुधारिएको हो ।


यस साता होटल समूह बाहेक अरु कारोबार भएका समूहमा उच्च अंकको सुधार आएसँगै नेप्से बढेको हो । जलविद्युत समूह सबैभन्दा उच्च ६२ अंक बराबरले, टेलिकम सूचीकृत अन्य समूह २० अंक बराबरले, बीमा समूह साढे १७ अंक बराबरले र वाणिजय बैंक समूह पनि साढे १२ अंकले सुधारियो ।


यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय २१ कम्पनीको ९ हजार ५ सय २१ कारोबारबाट ८७ करोड १८ लाख रुपैयाँ बराबरका २९ लाख ८१ हजार कित्ता शेयरहरु खरीद बिक्री भए ।


गत साता १ सय २३ कम्पनीको ८ हजार २ सय ५४ कारोबारबाट ७२ करोड ४६ लाख रुपैयाँ बराबरका २५ लाख ३१ हजार कित्ता शेयरहरु खरीद बिक्री भएका थिए । कारोबार रकममा पनि गत साताको तुलनामा २० प्रतिशत बढिले वृद्धि भएको हो ।


यस साता कारोबार रकमको आधारमा एभरेष्ट बैंक, कारोबार भएको शेयर संख्याको आधारमा नबिल व्यालेन्सड फण्ड र कारोबार संख्याको आधारमा कमर्ज एण्ड ट्रष्ट बैंक अग्रस्थानमा रहे ।


कारोबार रकमकै आधारमा एभरेष्ट बैंकलाई चिलिमे हाइड्रो पावर कम्पनी, हिमालयन डिष्टिलरी, नेपाल क्रेडिट एण्ड कर्मस बैंक र एनआईसी एशिया बैंकले क्रमशः पच्छ्याउन पुगे ।


यस साता सिद्धार्थ बैंकको वोण्ड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी, शिखर इन्स्योरेन्स कम्पनी, स्ववलम्वन लघुवित्त विकास बैंक र नेपाल क्रेडिट एण्ड कर्मस बैंकको वोनस शेयर सूचीकृत भएको एक्सचेन्जले जनाएको छ ।

 

RSS