मापदण्डबिनै सञ्चालनमा आएका कारण दुर्घटना भएको भन्दै सप्तकोसीमा तत्कालका लागि डुंगा सञ्चालन गर्न रोक

मैनामैनी, उदयपुर – कान्तिपुर अन्लाईनमा प्रकासित समाचार अनुसार उदयपुर स्थानीय प्रशासनले सप्तकोसीमा तत्कालका लागि डुंगा सञ्चालन गर्न रोक लगाएको छ । मापदण्डबिनै डुंगा सञ्चालनमा आएका कारण दुर्घटना भएको भन्दै रोक लगाइएको हो ।


साताअघि कोसीमा डुंगा दुर्घटना भएको थियो । सामान्य मापदण्ड पनि नहुँदा दुर्घटना भएको स्थानीय प्रशासनले बतायो । दुर्घटनापछि उद्धार र राहतको प्रश्न उठेको छ । प्रस्ट नीति नहुँदा बेपत्ता भएकालाई क्षतिपूर्ति, सञ्चालकलाई कारबाही, घाइतेको उपचारमा समस्या छ । मापदण्ड नहुँदा राहत र उद्धारमा कठिनाइ हुने गरेको स्थानीय प्रशासनले जनायो । डुंगा सञ्चालनका लागि जिविसले ठेक्का लगाउने बाहेक अन्य व्यवस्था छैन ।


 नियम कानुन नहँुदा खोज्ने बाहेका अन्य काम गर्न नसक्दा प्रहरी पनि पछि हट्नुपर्ने बाध्यता भएको मैनामैनी गाविसका पूर्वअध्यक्ष दुर्गकुमार राईले बताए ।  जिविसका सूचना अधिकृत विश्वजित राईले भने, ‘क्षमताभन्दा बढी यात्रु डुंगा मा चढाउँदा दुर्घटना हुने गरेको छ । कति यात्रु चढाउने भन्ने डुंगा चलाउनेको विवेकले निर्धारण गर्ने भएकाले यसले दुर्घटना निम्त्याउँछ ।’


सप्तकोसीको चतारालगायतका घाटमा डुंगा सञ्चालन ठेक्का लगाउनु जिविसको कार्य क्षेत्रभित्र पर्ने स्थानीय विकास अधिकारी गोपालकुमार अधिकारीले बताए । उनले भने,  ‘जिविसले पनि ठेक्का लगाए पनि सञ्चालन अनुगमन गर्दैन ।’ दुर्घटनापछि जिविसको ठेक्का र सञ्चालनका बारेमा कुरा उठे पनि सञ्चालनको मापदण्ड भने नभएको उनले बताए ।

 

‘अहिलेलाई डुंगा सञ्चालनमा रोक लगाइएको छ,’ प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले भने, ‘सञ्चालन अनुगमनलगायतका विषयमा मापदण्ड बनाएरमात्रै सञ्चालन गर्न दिइन्छ ।’ सञ्चालनका लागि न्यूनतम शर्त बनाएर लागू गरेपछिमात्रै सञ्चालन गर्न सोच बनाइएको उनले बताए ।

अन्य समाचारहरु