-उमाकान्त पाण्डे गाउंले
दुबइ – संयुक्त अरब एमिरेट्स यूएईको दुबइमा अलपत्र परेका दुई नेपालीको अवस्था कस्टकर बनेको छ । १८ महिना देखि दुबइमा अलपत्र परेका झापा गौरीगन्जका बेद प्रसाद तिमील्सिना र दिपक आचार्यको स्थिति कष्टकर बनेको हो ।
अफ्ठारो अवस्थामा परेको लामो समय सम्म पनि कही कतै बाट सहयोग नभए पछि चिन्तामा परेर ‘आत्मदाह’ गर्ने सम्मको सोचमा पुगेको उनीहरुले बताएका छन ।
यूएईको रसअलखेमाको अल साब्री स्टिल वर्क कम्पनीमा कार्यरत उनीहरुले न काम गरेको तलब पाएका छन् न स्वदेश फर्कन पाएका छन् । अलपत्र मध्ये बेदप्रशाद ९ बर्ष देखी सोही कम्पनीमा कार्यरत थिए । १९ महिना अघि नेपाल बिदामा गएर फर्किएका उनी दुबइ आएको ३ दिन पछि कम्पनीको मालिक जेलमा परेको थाहा पाएका थिए ।
मालिक जेलमा परेपछि छुटाउनका लागि कम्पनीमा कार्यरत चार नेपालीले आफुहरुको राहदानी जमानतमा राख्न हस्ताक्षर गरी दिएका थिए । मालिकको रिहाइ पछि आफुहरुलाई राम्रो होला भनेर राहदानी बुझाएर सहयोग गरेका उनीहरु आफ्नो राहदानी अरुलाई गलत प्रयोजनका लागि दिएको आरोपमा मुद्दा लागे पछि तारेखमा दुबइ अदालत धाउन वाध्य भएका छन ।
‘हाम्रो यहाँ कोही रहेनछ,न हाम्रो पक्षमा बोलिदिने,न सुनिदिने कोही’ अब हामी कसरी बांच्ने ? ४ बर्ष अघि दुबइ आएका झापा गौरीगन्जका दिपक आचार्यले भक्कानिदै भने । ‘४ बर्ष अघि बिदामा नेपाल गएर बिहे गरी आएको हुँ ,आज भोली भन्दा भन्दै लामो समय भयो’ पास्पोर्ट अदालतमा छ, यमराजको टिकट पहिले पाइएला नेपाल फर्किने दिन आउँदैन जस्तो छ’ आचार्यले थपे ।
‘अब धेरै दु:ख पाएर बस्नु भन्दा बरु हामी दुई दुबइमै आत्मदह गर्ने योजना बनाउदै छौ । जसले गर्दा अन्य नेपालीलाई यस्तै वा अन्य कुनै समस्या आइनपरोस्’ सम्बन्धित निकायले सहयोग गरेमा आफुहरुको उद्दार हुन सक्ने भन्दै दुतावासमा निवेदन दिएको एक बर्ष बढी हुँदा पनि सहयोग नपाएको गुनासो गरे ।
कम्पनीमा काम गर्ने चार जना नेपालीले यसरी राहदानी जमानत राखेकोमा दुईजनाले अदालतको फैसलामा राहदानी फिर्ता पाएर नेपाल फर्कीसकेका छन । तीमध्ये अर्घाखाँची डिभर्नाका चिरञ्जीवि कुँवर भने ६ महिनाअघि र १ महिना अघि इलामका माधव दाहाल नेपाल फर्केका थिए । कुँवरलाई उनकै मामा हवाइ टिकट उपलब्ध गराएका थिए भने दाहाललाई यूएईमै कार्यरत नवलपरासीका लेखनाथ पाण्डेले सहयोग गरेका थिए ।
बाँकी दुई जनाको मुद्दा अझै विचारधीन छ । प्राय: दिनहु दुबइ अदालतले बोलाउछ , अदालत धाउदा धाउदै साथी भाई सगं खोजेर ल्याएको पैसा पनि रित्तियो अब कसरी दैनिकी चलाऊने भन्ने उनिहरुलाई चिन्ता छ ।