हेटौंडाका २ र्फममा बर्डफ्लु पुष्टि भएपछि करिब ११ हजार कुखुरा नष्ट

प्रताप विष्ट, ईकन्तिपुर
हेटौंडा  – हेटौंडाका २ र्फममा बर्डफ्लु पुष्टि भएपछि पशु सेवा कार्यालयले संक्रमित क्षेत्रका करिब ११ हजार कुखुरा नष्ट गरेको छ । करिब ३ हजार अन्डा र १ हजार २० किलो दाना पनि नष्ट गरिएको छ । 
शुक्रबार र शनिबार हेटौंडा ८ कमाने र चौघडाका पन्छीजन्य वस्तु र्‍यापिङ रेस्पोन्स टिम (आरआरटी) ले नष्ट गरेको हो । जसका लागि ४० जनाको टोली खटेको थियो । हिमाल पोल्टी फर्म र हेटौंडा ६ को शान्ति राईको पोल्ट्री फर्ममा बर्डफ्लु भेटिएको हो । दुवै र्फमको ५ सय मिटर आसपास क्षेत्रलाई संकटग्रस्त घोषणा गरिएको छ । अहिले खोरको सफाई भइरहेको छ ।
पशु सेवा कार्यालय प्रमुख सूर्यप्रसाद पौडेलका अनुसार मारिएका १३ र्फमका कुखुरा र पन्छीजन्य वस्तु खाल्टोमा पुरिएको छ ।
 बर्डफ्लुका कारण कमाने र चौघडा क्षेत्रमा १ हजारभन्दा बढी कुखुरा मरिसकेका थिए । पशुसेवाको टोलीले शनिबारसम्म रेवतीरमण न्यौपाने, हेम गुरुङ, सुनिल अधिकारी, गोविन्द खड्का, रामनाथ बगाले, लक्ष्मी गौतम, रामकृष्ण बानिया, पदम थोकर, नारायणलाल श्रेष्ठ, निरु बयलकोटी, नवराज खड्का, ज्ञानेन्द्ररमण न्यौपाने र मधुसुदन मैनालीका र्फममा गरी १० हजार ५ सय ८२ कुखुरा नष्ट गरेको हो । सबैभन्दा बढी नवराज खड्काको २ हजार ५ सय कुखुरा नष्ट गरिएको छ ।
कुखुरापालक किसानले पन्छीजन्य वस्तु नष्ट गर्दा लागतअनुसार क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् । अहिले दिइने क्षतिपूर्ति अत्यन्त न्यून भएकाले लागतअनुसारको क्षतिपूर्ति मागेका हुन् । शुक्रबार जिल्ला प्रशासनमा बसेको सर्वपक्षीय बैठकले थप क्षतिपूर्ति रकम माग गर्ने निर्णय गरेको छ । संटकग्रस्त घोषित क्षेत्रका किसान थप क्षतिपूर्ति पाउने भएपछि कुखुरा नष्ट गर्न सहमत भएका थिए ।

अन्य समाचारहरु