डा. चित्रप्रसाद वाग्लेलाई अष्ट्रेलियाबाट २ लाख ६३ हजार १ सय ५४ रुपैयाँ सहयोग

नारायण खडका



अष्ट्रेलिया  –  एपेन्डिक्सको क्यान्सरबाट पीडित भई उपचाररत डा. चित्रप्रसाद वाग्लेलाई अष्ट्रेलियाबाट २ हजार ८ सय ७६ अष्ट्रेलियन डलर (नेपाली २ लाख ६३ हजार १ सय ५४ रुपैयाँ) सहयोग गरिएको छ । अष्ट्रेलिया  रहेका युवा तथा नेपाली टाईम्स अष्ट्रेलियाका सम्पादक सुजीत सिग्देलको पहलमा उक्त रकम संकलन गरेर उनलाई पठाइएको हो ।




 

करिब ३ साताअघि सिग्देलले फेसबुक मार्फत एउटा स्टाटसबाट सुरु गरेको सहयोग अभियान अन्तरगत छोटो समयमा नै यो रकम सँकलन भएको हो । यहाँ रहेका नेपालीहरुले अष्ट्रेलियन डलर ५ देखि ३ सय ५० सम्म सहयोग गरेका थिए । जम्मा ५६ जनाबाट मात्र उक्त रकम सँकलन हुन सकेको सिग्देलले बताए । 



नेपालका डाक्टरहरु शहरमुखी भएर गाउँ नजाने प्रवृति बढिरहेको अवस्थामा आफ्नो सम्पुर्ण जीवन गाउँमा अर्पण गरेका डाक्टरलाई बचाउनुपर्छ भन्ने सोचका साथ रकम सँकलन गरिएको उनले बताए ।




अर्घाखाँची जिल्लाको सरकारी अस्पतालमा १२ बर्षसम्म ईन्चार्ज रहेका वाग्ले छात्रवृत्तिमा एमपीएच (मास्टर इन पब्लिक हेल्थ) पढ्न थाइल्याण्ड गएका बेला डेढ बर्षअघि उनमा क्यान्सर फैलिएको थाहा भएको थियो । विश्व स्वास्थ्य संगठनको छात्रवृत्तिमा एमपीएच गर्न बैंकक पुगेको छ महिनामै उनी रोग लिएर नेपाल फिरेका थिए ।  

 

रुपन्देही मुर्गियाका ४४ वर्षीय वाग्लेले रुसबाट एमडी (जनरल फिजिसियन) गरेका छन् । उनले अर्घाखाँची सरकारी अस्पतालाई १५ बाट ३२ बेडमा बिस्तार गर्नेदेखि २४ घण्टै उपचार सेवा, आपत्कालिन रक्त व्यवस्था, प्रश्रुति तथा शल्यक्रिया सेवा आदिको विस्तार गरेका थिए ।