– युबराज कंडेल
बुटवल, भाद्र ८,उच्च माध्यमिक शिक्षा परिषद बुटवलको आयोजनामा उत्तरपुस्तिका परिक्षण सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
आइतवार देखी शुरु हुने कक्षा ११ को उत्तरपुस्तिका परिक्षण कार्यलाई व्यवस्थित र मर्यादित बनाउने उद्धेस्यले अभिमुखीकरण कार्यक्रम गरिएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा उच्च माध्यमिक शिक्षा परिषद्का परीक्षा नियन्त्रक दुर्गा प्रसाद अर्यालले उत्तरपुस्तिका परिक्षणमा नै विद्यार्थीको भविस्य र विद्यालयको अस्तित्व जोडिएकोले शिक्षकले इमान्दार ,जिम्मेवार र तथ्यपरक भएर उत्तरपुस्तिका परिक्षण गर्नुपर्ने कुरामा जोड दिनुभयो।
बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक आनन्दमान श्रेष्ठले बिद्यार्थी र समग्र शिक्षा प्रणालीको सहि मूल्यांकनको लागी उत्तरपुस्तिका परिक्षणमा शुद्धता र एकरूपता ल्याउनुपर्ने बताउनुभयो।
उच्च माध्यमिक शिक्षा परिषद् बुटवलका प्रमुख सुवास पन्तले उत्तरपुस्तिका परिक्षण कार्यको व्यवस्थापन र प्राविधिक पक्षको जानकारी दिदै परिक्षण कार्यलाई त्रुटिरहित बनाउने कार्यमा शिक्षकको भूमिका महत्वपूर्ण हुने बताउदै सम्पूर्ण शिक्षकहरुबाट सो कार्यको लागी सहयोगको अपेक्षा गरिएको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा उच्च माध्यमिक शिक्षा परिषद्का शाखा अधिकृत तारा पाण्डेले स्वागत गर्नुभएको थियो भने शाखा अधिकृत बाबुराम भण्डारीले उत्तरपुस्तिका परिक्षणको लागी भैरहेको तयारीबारे जानकारी दिनुभएको थियो ।
अभिमुखीकरण कार्यक्रममा लुम्बिनी अंचलका छ र राप्ती अंचलका दुई गरि आठ जिल्लाका १८० वटा उच्च माविका शिक्षकहरुको सहभागिता रहेको थियो।