काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः अहिलेसम्मकै नयाँ उचाई कायम गरेको छ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य एकै दिन तोलामा ३४ सयको उच्च बृद्धि भएर तोलामा ६३ हजार ३ सयको नयाँ उचाई कायम भएको हो ।
यसअघि गत माग महिनामा सुनको मूल्यले तोलामा ६२ हजारको रेकर्ड कायम गरेको थियो । त्यसयता ओरालो लाग्दै तोलाको ४८ हजारसम्म झरेको थियो । विश्लेषकहरुले अझै झर्ने अनुमान गरेपनि त्यसयता मूल्य उकालो लाग्दै आएको हो ।
मंगलबार स्थानीय बजारमा छापावाल सुन ५९ हजार ९ सयमा कारोबार भएको थियो । बुधबार भने तेजाबी सुनको मूल्य नै १० ग्रामको ५४ हजार ५५ अर्थात् तोलाको ६३ हजार ५० मा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।



