लवदेव ढुंगाना
पाँचथर – पाँचथर फिदिम ३ स्थित मालबाँसेकी एक ११ वर्षीया बालिका बलात्कृत भएकी छिन् । एक साताअघि जिल्लाका दुई नाबालिका बलात्कृत भएको घटना सेलाउन नपाउँदै अर्की बालिका पनि जबरजस्तीमा परेको सार्वजनिक भएको हो ।
प्रहरी निरिक्षक सञ्जिव खड्काका अनुसार स्थानीय ३६ वर्षीय नविन सम्बाहाम्फेले पैसा र बिस्कुटको प्रलोभन देखाई स्थानीय कात्तिके खोल्सामा लगी बुधबार बालिकालाई बलात्कार गरेका हुन । बलात्कारपछि सम्बाहाम्फेले बालिकालाई कसैलाई भनेमा मार्ने धम्की दिएको परिवारले जनाएको छ ।
घटनाका अभियुक्त फरार छन् । यसअघि बालिका बलात्कारका दुई अभियोगीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । जिल्लामा नाबालिका बलात्कारको घटना एकपछि अर्को गर्दै आएकोले गम्भीरतापूर्वक अनुसन्धान र कार्वाही अगाडि बढाएको प्रहरी नायब उपरिक्षक दिपशम्शेर राणाले बताए ।