पसलमा काम गर्ने १२ वर्षिया बालिकालाई दिपायलको सेतीपुलमा सामूहिक बलात्कार

मोहन शाही
डोटी  – पसलमा काम गर्ने १२ वर्षिया बालिका दिपायलको सेतीपुलमा शुक्रबार बेलुकी सामूहिक बलात्कारमा परेकी छन् । बलात्कारपछि बालिका मानसिक रूपले असन्तुलित भएकी छन् ।
 
राजपुर बजारमा मासु किन्न गएकी बालिकालाई पसलमा पुर्‍याइदिन्छु भनेर जिप चालक श्याम कठायत र खलासीले मुख थुनेर बलात्कार गरेको पीडित बालिकाले बताएकी छन् । खलासीको नाम र ठेगाना बालिकाले बताउन सकेकी छैनन् । बालिकाले आरोपित कठायतको नाममा इलाका प्रहरी कार्यालय दिपायलमा उजुरी दिएकी छन् ।
प्रहरीले बलात्कारमा संलग्नलाई पक्राउ गर्न सकेको छैन । अभियुक्तका आफन्तलाई कार्यालयमा बोलाएर प्रहरीले बयान लिएको छ । आफन्तले अभियुक्तबारे कुनै जानकारी नभएको बयान दिएका छन् ।
कठायत आपराधिक मानसिकताको व्यक्ति रहेकाले कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग यातायात व्यवसायीले समेत गरेका छन् । ती अभियुक्तले यसअघि सवारी दुर्घटना तथा यौन दुव्र्यवहारका काण्डसमेत गरेका थिए । मदिरा सेवन गरेका कठायत बिनालाइसेन्स सवारी चलाउँदै आएका थिए । ‘हाम्रो पेसाले बदनामी गर्ने काम गरेको छ,’ एक यातायात व्यवसायीले भने, ‘सहकर्मी नै भनेर के गर्नु, त्यस्तालाई कडा कारबाही गर्न प्रहरी चुक्नु हुँदैन ।’
इलाका प्रहरी कार्यालय दिपायलका इन्चार्ज सइ मुकुन्द रानाले अभियुक्तलाई जसरी पनि पक्राउ गरी छाड्ने बताएका छन् । ‘बलात्कृत बालिकाको अवस्था सुधारोन्मुख छ,’ सइ रानाले भने, ‘सुरुमा जाहेरी दिन आएका बेला बालिका चिच्च्याउने, रुने गरिरहेकी थिइन्, बालिकामा असर परेको थियो ।’
राजपुरबाट कुलपाते पसलमा फर्किरहेकी बालिकालाई अभियुक्तले जबर्जजस्ती दिपायलको सेती पुलमुनि जिपसहित लगेर बलात्कार गरेका थिए । पछिल्लो समय सुदूर पश्चिमका पहाडी जिल्लामा बालबालिकामाथि यौन शोषण बढ्दै गएको छ । 

अन्य समाचारहरु