शेयर बजार परिसूचक नेप्सेमा गिरावट जारी

काठमाडौं । यस साता पनि शेयर बजार परिसूचक नेप्सेमा गिरावट आयो । गत साता ५ अंकले घटेको नेप्से यस साता साढे २ अंकले घट्यो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २ दशमलब पाँच आठ अंकले ह्रास भई अन्तिम दिन ५ सय ४९ दशमलब पाँच शून्य अंकमा आइपुग्यो । 
गत बिहीबारको तुलनामा भने नेप्से ३ अंक बढिले घटेको हो । वाणिज्य बैंक र टेलिकम सूचीकृत अन्य समूहमा गिरावट आएसँगै साताको नेप्से घटेको हो । 
वाणिज्य बैंक समूह ६ अंक बढिले घट्यो भने अन्य समूहमा पनि ६ अंक बराबरको गिरावट आयो । बीमा समूह ३६ अंकले र जलविद्युत समूह भने १३ अंक बराबरले सकारात्मक रहे । 
यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ३९ कम्पनीको ११ हजार ६ सय ४३ कारोबारबाट ९७ करोड २६ लाख रुपैयाँ बराबरका २५ लाख २२ हजार कित्ता शेयरहरु खरीद-बिक्री भए । 
गत साता १ सय ४१ कम्पनीको ९ हजार ४ सय कारोबारबाट २ अर्व ९ करोड रुपैयाँ बराबरका ६२ लाख ८९ हजार कित्ता शेयरहरु खरीद बिक्री भएका थिए । कारोबार रकममा पनि गत साताको तुलनामा साढे ५३ प्रतिशतले ह्रास भएको हो । 
यस साता कारोबार रकमको आधारमा चिलिमे हाइड्रो पावर कम्पनी, कारोबार भएको शेयर संख्याको आधारमा नविल व्यालेन्स फण्ड र कारोबार संख्याको आधारमा मेघा बैंक नेपाल अग्रस्थानमा रहे । 
कारोबार रकमकै आधारमा चिलिमे हाइड्रो पावर कम्पनीलाई एभरेष्ट बैंक, नबिल बैंक, नेपाल वंगलादेश बैंक र मेघा बैंक नेपालले क्रमशः पच्छ्याउन पुगे । यस साता जानकी फाइनान्सको ४ लाख ८७ हजार कित्ता वोनस शेयर सूचीकृत भएको एक्सचेन्जले जनाएको छ । 
RSS, IMAGECHANNEL