न्युयोर्कस्थित आप्रवासी युवाहरुले एक लाख १३ हजार आर्थिक सहयोग

न्युयोर्क  – एपेन्डिक्सको क्यान्सरका कारण मृत्युसँग संघर्षरत डा.चित्रप्रसाद वाग्लेको जीवनरक्षा र उनका स-सना छोराछोरीहरुको भविष्यका निम्ति सहयोगार्थ न्युयोर्कस्थित आप्रवासी युवाहरुले एक लाख १३ हजार आर्थिक सहयोग गरेका छन् ।


आइतबार नै भोटाहिटीस्थित बाणिज्य बैंकमा रहेको वाग्ले दम्पतीको खाता सो रकम जम्मा गरिएको छ । ‘मनी ट्रान्सफर’ को व्यवसायमा संलग्न ऋषि अधिकारीको पहलमा रकम जम्मा गरिएको थियो । कान्तिपुर प्रतिनिधि दिनेशजंग शाहले पनि पहलमा सहयोगी भुमिका निभाएका थिए । भारतको राजीव गान्धी अस्पतालमा महिनौको उपचारपछि पनि स्थिती जटिल बन्दै गएपछि चिकित्सकहरुको सल्लाहमा नेपाल फर्किएका वाग्लेको युरोप वा अमेरिकामा उपचार हुने आशा भने जिवितै छ ।


आफ्नो चिकित्सकीय पेशालाई सदैव नेपालको ग्रामीण क्षेत्रमा समर्पित गरेका डा. वाग्लेको सहयोगका लागि उपचारमा केहि सहयोग गर्न सकिन्छ भनेर रकम संकलन गरिएको ऋषि अधिकारीले बताए । उनले भने’ सहयोग सानो भए पनि यसले अरु सहयोगी हातहरु जुटाउन मद्धत गरोस् भन्ने हाम्रो ध्येय हो । उनी बचे, धेरै अरु बच्ने थिए ।’ डा.वाग्लेको पुर्नजीवनका लागि ठुलो धनराशी आवश्यक रहेको छ् ।


वाग्लेको सहयोगार्थ पंकज घिमिरेले बीस हजार सहयोग गरेका छन् भने गुल्मीका शम्भू पोखरेल, अर्घाखाँचीका शालिकराम बेल्बासे र ऋषि अधिकारीले जनही दश/दश हजार आर्थिक सहायता गरे । चर्चित रक्तदाता एवं ब्लड डोनर्स अफ अमेरिकामा अध्यक्ष अर्जुन मैनालीले दश हजार, दिनेशजंग शाहले दश हजार एवं ज्याक्सन हाईट स्थित रारा मनि ट्रान्सफर गु्रपले दश हजारले खातामा योगदान गरे ।


त्यसैगरि वाग्लेप्रति सहानुभुति र शुभकामना दिंदै कांग्रेसका महासमिति सदस्य एवम जनसम्पर्क समिति अमेरिकाका पुर्व अध्यक्ष आनन्द विष्ट, कपनका बिमल थापा, रारा ग्रुपका सञ्चालक राजु तुलाधार र रमेश नकर्मीले जनही पाँच/पाँच हजारको योगदान गरे । वाग्ले सहयोगार्थ सन्दीप बन्डी र हेम पाण्डेले तीन/तीन हजार, बिष्णुमान प्रधानले दुई हजार पाँच सय, जनसम्पर्क समिति अमेरिकामा केन्दि्रय संयोजक बिष्णु सुवेदीले दुई हजार एक सय एवम काठमाडौंका किरण शाक्यले दुई हजार वाग्लेको सहयोग गरेका छन् ।

 

– ईकान्तिपुर