त्रिशूली, नुवाकोट – पहाडी जिल्ला तथा दुर्गममा रहेर लामो समयसम्म सर्वसाधारण नेपालीको उपचारमा लाग्नुभएका क्यान्सरबाट पीडित डा चित्रप्रसाद वाग्लेको उपचारका लागि यहाँ सहयोग रकम सङ्कलन हुन थालेको छ।
नुवाकोट जिल्लाका विभिन्न संस्था तथा व्यक्तिले वाग्लेको सहयोग कोषमा जम्मा हुनेगरी रकम जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन्। आइतबारसम्ममा वाग्लेको उपचारका लागि जिल्ला प्रशासन कार्यालयमा रु ३२ हजार सङ्कलन भएको छ।
आज जिल्ला अस्पताल सरोकार उपभोक्ता समितिले गरेको चियापान कार्यक्रममा सङ्कलन भएको रु १९ हजार प्रमुख जिल्ला अधिकारी डुल्लुराज बस्नेतलाई बुझाएको छ।
यस्तै प्रशासन कार्यालयमा रु १३ हजार विभिन्न सङ्घसंस्थाले रकम बुझाएका हुन्। रकम बुझेपछि प्रमुख जिल्ला अधिकारी बस्नेतले दुर्गम भेगमा बसेर सेवा गर्ने डा वाग्लेलाई सहयोग गरेर नुवाकोटले नमुना कामको थालनी गरेको बताए।
त्यसैगरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका सरकारी कर्मचारीबाट सहयोग रकम जम्मा गर्नका लागि सम्बन्धित कार्यालयलाई आग्रह गरेको छ। प्रशासन कार्यालयको आग्रहमा जम्मा हुने रकम केही दिनमा नै वाग्लेका परिवारलाई बुझाइने प्रजिअ बस्नेतले बताए। रासस